काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेविसंघ) मा विवाद देखिएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एकैपटक ७१० जनालाई तदर्थ समितिमा मनोनित गरेसँगै विवाद सिर्जना भएको हो ।
मनोनित गर्दा संगठनमा काम गरेका भन्दा पनि आफ्नालाई प्राथमिकता दिइएको भन्दै कतिपयले राजीनामा दिइरहेका छन् ।
शेर्पाले मनोनित गरेकामध्ये नेविसंघका नेता मुुकेश घिमिरे र नेतृ एलिजा ढकालले उक्त कमिटीमा नबस्ने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मनोनयनका क्रममा संगठनको संरचना वा बनोट निर्माण गर्दा चुस्तता कायम गर्न नसकेको साथै त्यसले निर्दिष्ट लक्ष्य हासिल हुन नसक्ने समेत बताएका छन् ।
‘उल्लेखित मनोनयनका क्रममा संगठनको संरचना वा बनोट निर्माण गर्दा चुस्तता कायम गर्न नसके यसका निर्दिष्ट लक्ष्य हासिल हुन नसक्ने तथा सांगठिक गतिशीलता एवं प्रभावकारिता समेत कायम हुन नसक्ने यथार्थ बोध गर्न सकेको स्थिति छैन ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वमा स्थापित नयाँ पुस्ताका साथीहरूको क्षमतामा विश्वास गर्दै, नयाँ पुस्ताकै आँखाबाट ने.वि. संघ सुन्दर, सक्षम तथा समयानुकुल बनाउने सपना देख्दै, आवश्यक सहयोग, सदभाव, सुझाव र शुभेक्षाका लागि हामी सदासर्वदा तयार नै छौँ । यसका लागि औपचारिक रुपमा कुनै अमुक पदमै बसिरहनु पर्छ भन्ने अनिवार्य शर्त छैन । अतः यसै विज्ञप्ति मार्फत् नेपाल विद्यार्थी संघको सुन्दर भविष्यको कामना गर्दै यस समितीमा नरहेको घोषणा गर्न चाहन्छौँ ।’
एकातिर विवादको स्वरहरु आइरहेका बेला त्यसलाई चिर्दै संगठन सुदृढिकरणका लागि लागिरहने प्रतिवद्धतासहित उक्त कमिटीमा नबस्ने घोषणा गरेको घिमिरेले बताए ।
‘संगठनको गतिशीलता र सुुदृढिकरणका लागि बाहिरै बसेर पनि काम गर्न सकिन्छ भन्ने मनसायले नै उक्त कमिटीबाट बाहिरिने निर्णय गरेका हौँ ।’ घिमिरेले भने, ‘भोलिका दिनमा संगठनलाई चलायमान बनाउन कुनै पनि कसर बाँकी राख्नेछैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया