काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले गौर काण्ड उछालेर जनता समाजवादी पार्टीलाइ फसाउँन खोजिएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपा प्रवक्ता सुमनले १६ बर्ष अघि भएको घटनामा सरकार अहिलेसम्म किन चुप बसेको भन्दै शंका व्यक्त गरेका छन् । उनले मुद्दाको उठान जसरी गर्न खोजिएको त्यस्ले शंका गर्ने अवस्थालाई थप बल मिलेको बताएका छन् ।
प्रवक्ता सुमनले भने ‘ राजनीतिक व्यक्ति यस्ता झुटा मुद्धाबाट कहिले डराउदैन् । जनता समाजवादी पार्टी डराएको पनि छैन् । तर यो मुद्धाको उठान जसरी गरिएको छ, त्यो प्रति आपत्ति छ । अचानक सम्झौता गरेर हामीलाई फसाउने काम हुँदैछ, जनता समाजवादी पार्टीलाई मात्र नभई त्यहाँ १३० जनाको भन्दा बढीको संख्या छ त्यसलाई फसाउने दुष्प्रयास गरिदैं छ त्यो प्रति हामीले खेद प्रकट गरेका छौं । ’
उनले आफुहरु राज्य र सरकार नभएको र १६ वर्ष सम्म सरकार किन चुप बसेको भन्दै प्रश्न गरेका छन् । गौर हत्याकाण्डप्रति आफुहरु पनि दुखित रहेको भन्दै गौर घटना भवितव्यको घटना भएको र त्यसको सत्य तथ्य छानविन हुनु पर्ने प्रवक्ता सुमनले बताए ।
जसपाले गृह मन्त्रालय र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच मंगलबार भएको सहमतिप्रति असन्तुष्टि जाहेर गर्दै शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ प्रष्ट पारेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै सहमतिप्रति असन्तुष्टि जनाएको जसपाले यो विषयमा गम्भीर असहमति भने प्रकट गरेको छ ।
पत्रकार सम्मेलनमा जसपा नेता राजकिशोर यादवले विगतमा गठन भएको आयोगले छानविन गरेर तयार गरेको प्रतिवेदन किन सार्वजनिक किन नगरिएको भन्दै प्रश्न गरे ।
उनले तत्कालीन मधेशी जनअधिकार फोरमका नेताहरुलाई फसाउँने नियतले काम भइरहेको बताउँदै भने ‘गौर हत्यकाण्डबारे काठमाडौंमा गलत भाष्य स्थापित गर्न खोजिदैछ, फोरमका नेताहरु अपराधी हुन भन्ने प्रमाण गर्न खोजिदैछ, विगतको प्रतिवेदन किन सार्वजनिक गरिदैन, विगतका आयोगको अर्थ के । ’
१७ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको घटनामा जसपा (तत्कालीन मधेशी जनअधिकार फोरम)का अध्यक्ष उपेन्द्र यादवसमेत संलग्न रहेको आरोप लाग्दै आएको छ । त्यही घटनाको अनुसन्धान अघि बढाउनेसहितका विषयमा गृह मन्त्रालय र संघर्ष समितिबीच सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया