कांग्रेसले किन ग-यो सुनुवाई समितिको बैठक बहिस्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतवार संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । 

कांग्रेसकी सचेतक पुष्पा भुसालले संवैधानिक आयोगले निर्णय नसच्चिएसम्म आफूहरु संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई प्रक्रियामा सहभागी नहुने बताउँदै समितिको बैठक बहिस्कार गरेका हुन् । 

कांग्रेसको बहिस्कारका बाबजुद बसेको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकमा सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेस सांसदहरु आफूलाई जानकारी नगराई अनुपस्थित भएको बताए । साथै फागुन ७ गते बस्ने बैठक कांग्रेसले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिए ।

त्यस्तै संवैधानिक आयोगका प्रस्तावित चार अध्यक्षविरुद्ध कुनै उजुरी नपरे पनि मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध अजुरी परेको छ । उनीविरुद्ध नामे, बेनामे र सामूहिक गरी चार वटा उजुरी परेका छन् ।

राष्ट्रवादी देश भक्त समूह, अर्को एक समूह र २ वटा व्यक्तिका तर्फबाट समितिमा उजुरी परेको जनाइएको छ । उजुरीमा अन्सारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोप पनि जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?