प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अवरुद्ध नगरे सात कार्यसूची

लोकपथ
84
Shares

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको छ ।

मंगलबारको बैठक दलीय प्रतिनिधित्वका नेताहरूले धारणा राखेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा त्यस विषयमा सरकारको धारणा राखेका थिए । तर, उपप्रधानमन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध नगरे सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची छन् ।

त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझीको पद निलम्वनको सूचना, संसदीय समिति हेरफेरसहितको सात सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच राष्ट्रिय सभाको बैठक पनि बोलाईएको छ । राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्राप्त दुई छुट्टाछुट्टै पत्रको व्यहोरा पढेर राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदनलाई जानकारी गराउनेछन् । यस्तै,संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८० को प्रतिवेदन पनि सभामा पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

विपक्षी एमालेका कारण प्रतिनिधिसभाको बैठक साउन १० गते देखि सूचारु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?