रास्वपाको निलो रङ : स्टन्टबाजी कि जनताको घाउमा मल्हम ? (भिडियोसहित)

जनतामा चरम निराशा
स्थानीय निर्वाचनले देखाएको नयाँ संकेत
दोहोरिरहेको पूराना दलका पूरानै अनुहार
परिवर्तन खोजिरहेका टिथलाग्दा आँखा
अनि, परिवर्तन हुन्छ भन्ने नयाँ अभिलाशा

यस्तै–यस्तै परिवेशमा जन्मियो राष्ट्रिय स्वतन्त्र पार्टी । यो पार्टी चुनावमा होमिए के होला भन्ने शुरुवाती कौतुहलता । चुनावमा होमिसकेपछि जित्दैन भन्ने पूर्वानुमान र परिणामपछि नेपाली राजनीतिले पाएको ‘सप्राइज’ ।

हो, टेलिभिजनबाट जनताको आवाज र समाजका समस्याको उजागर गर्दै समाधानको पहलकदमी खोजिरहेको पात्र एकाएक समाधान गर्ने थलोमा पुग्नु नै राजनीतिमा थप नाटकीय इतिहास बनेको थियो । पार्टी स्थापनको ६ महिनामै पाएको जनमतले वर्षौँदेखिको गाडिएर बसेको राजनीतिको नातावाद–कृपावाद, राजनीतिक दलको सुरक्षित गरेको पक्कड क्षेत्रमात्र भत्काएन पूरानो राजनीतिक मनस्थिती नै जग नै हल्लाइदियो ।

गत मंसिरको निर्वाचनमा २० सिटसहित प्रतिनिधित्व गरेको दललाई उपनिर्वाचनमार्फत् थप एक सिट बढाएपछि रास्वपाप्रतिको विश्वास दरिलो बन्दै गएको संकेत गर्यो । त्यसबीचमा रवि र रास्वपाको राजनीतिलाई देवत्वकरण र दानवीकरण गर्ने क्रम चलिरहे जो अहिले पनि जारी छ ।
संसदमा रास्वपाका केही सांसदको परिपक्वता झल्किन थालेको छ । भने, धेरैको अपरिपक्कता र जबरजस्ती परिपक्व बन्न खोजिएको देखिन्छ । अर्कोतिर कतिपयले रास्वपामाथि नीति र विचारका कुरा निकाल्दै चौतर्फीबाट छेडखान गरिरहेका छन् ।

रास्वपा र रविको राजनीतिले नेपाली समाजलाई यसरी विभाजित गरिदिएको छ की एक पक्ष जो रास्वपा र रविले जे गरे पनि सही भनिरहेको छ, भने अर्को पक्षले त्यसलाई स्टन्टबाजीको संज्ञा दिइरहेको छ ।

यतिबेलामा चर्चामा छ चितवन–२ मा रास्वपाका सभापति रवि लामिछानेले सञ्चालनमा ल्याएको ‘निलो बस’ र ‘मोबाइल क्लिनिक’ । लामिछानेले उप–निर्वाचन जितेको १०० दिनमा १०० जनालाई रोजगारी दिने कार्यक्रमदेखि महिलाका लागि ‘ब्लु बस’ र ज्येष्ठनागरिकका लागि ल्याइएको मोबाइल एम्बुुलेन्सको चर्चा र आलोचना दुवै भइरहेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई बिना टिकट शुल्क नेपाल फर्काउने र उनीहरुलाई रोजगारी दिने रास्वपाको एजेण्डा र योजना नराम्रो होइन । पक्कै पनि दैनिक हजारौँको संख्यामा विदेशिनुपर्ने बाध्यताका कारण पनि केही नयाँपन दिने रविको योजना जनतामाझ पपुुलर बन्यो । रविले केही दिनअघि सामाजिक सञ्जालमा लेख्दै आफूले १०० दिनमा १०० जनालाई रोजगारी दिने अभियानअन्तर्गत विज्ञापन खोलेको बताएका थिए । साथै, यो कुरा चुनावका बेला जनतालाई प्रतिवद्धता गरेकाले त्यही कुरा नै पूरा गरेको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेकालागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौं, त्यो पनि “बिना ढेउवा के । अहिलेकालागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ ।’

यसैगरी निर्वाचन जितेको १०० दिन पुगेको अवसरमा रविले निर्वाचन क्षेत्र लक्षित शुुरुवात गरेको ‘ब्लुु बस’ र ‘मोबाइल क्लिनिक’ पनि विवादबाट अछुतो रहन सकेन । रास्वपाको निलो रंग पोतिएको बस अहिले चितवन क्षेत्र नं २ मा सञ्चालित छ । रवि लामिछानेको फोटो अंकित कार्डधारी महिलाहरुका लागि मात्रै सो बस चढ्ने सुविधा रहेको छ । यद्यपि, महिला पुुरुषलाई भेदभाव गरिएको भन्दै त्यसको आलोचना भइरहेको छ । अर्को पाटो भनेको मासिक १ लाख ३५ हजार खर्च हुुने सञ्चालित उक्त बसको खर्च कसले दिन्छ भन्दै त्यसको स्रोत समेत खोजिएको छ ।

जनतामा आशा जगाउने काममा रविले भूमिका खेले पनि कानुनी पाटोमा भने रवि बेला–बेला चिप्लिरहन्छन् । गत शुुक्रबारबाट सञ्चालनमका आएको ब्लू बस र मोबाइल क्लिनिकले जनतालाई सेवा दिने भए पनि त्यसको वैधानिक पाटोबारे भने रविको आलोचना भइरहेको छ ।

सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसलाई रास्वपाले निलो रङ लगाएर रङ परिवर्तन गर्यो । तर बसको रङ परिवर्तन गर्दा यातायात व्यवस्था कार्यालयसँग कुनै अनुमति नलिएको भन्दै अहिले त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ को उपदफा १ (४) को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ । तर, सरकारी निकायलाई कुनै जानकारी नै नदिइ आफूूखुुसी रङ परिवर्तन गरियो जसले रास्वपा र रविको कदम थप कच्चा रहेको प्रमाणित गरेको छ ।

जनताको सेवाका लागि सञ्चालनमा ल्याइएको अर्को सुविधा ‘मोबाइल क्लिनिक’ मा पनि रास्वपा र रविको कच्चापनले विवादमा पर्यो । रङ परिवर्तन गरेर सञ्चालनमा ल्याइएको मोबाइल क्लिनिक भ्यान पुुरानो भरतपुर मेडिकल कलेजले दिएको थियो ।
ना २ च ५६१९ नम्बरको मोबाइल भ्यान अस्पतालको एम्बुलेन्स हो । २०७१ सालमा भारतीय दूूतावासले दिएको उक्त एम्बुलेन्सको रङ परिवर्तन गरियो । त्यहाँ लेखिएको एम्बुुलेन्सलाई मेटेर मोबाइल क्लिनिक लेखियो ।

विगत ५ वर्षदेखि नवीकरणसमेत नगरेको एम्बुलेन्सको रङ परिवर्तन गरि पुनः सञ्चालनमा ल्याइएको भन्दै आलोचना भएपछि रास्वपाले उक्त भ्यान अस्पताललाई नै फिर्ता गरेको छ ।

आलोचना सुन्न त्यति नरुचाउने स्वभावका लामिछानेले आफूले काम गर्दा केही त्रुटी भएकोमा पुनः सच्याएर जाने जानकारी दिएनन् । बरु सामाजिक सञ्जालमा आफूले जे गर्दा पनि आलोचना गर्नेहरुले आलोचना देखेको भन्दै खनिएका छन् ।

गत आइतबार रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो । मोबाइल क्लिनिक चालू छ । आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ । यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ । ब्लु बसमा पनि कुनै समस्या छैन । मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला । हैट हेडलाइन आतंक र …हैरानी । सक्दैनौ, सक्दै त सक्दैनौ ।’

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल रवि लामिछानेले राजनीतिमा विकल्प दिएको भन्दा पनि जनताले नै मत दिएर नयाँ विकल्प दिएको बताउँछन् । साथै आगामी निर्वाचनसम्म जाँदा त्यसलाई रवि र रास्वपाले कायम राख्नुुपर्ने उनको सुुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?