काठमाडौं । सरकार र गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ ।
आज गृहमन्त्रालयमा सहमति भएपछि गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रमसमेत फिर्ता लिएका छन् ।
२०६३ चैत ७ मा रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि उक्त घटनाको विषयमा सो समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानुन बमोजिम कारबाहीको प्रकृया अगाडी बढाउन गृह मन्त्रालय सहमत भएको जनाइएको छ ।
घटनामा मृत्यु भएका र २०६५ पुस ९ मा मन्त्रिपरिषद्ले सहिद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने र उक्त घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।
त्यस्तै मृतकहरूको स्मृतिमा रौतहट जिल्लामा सहिद स्मारक स्तम्भ निर्माण कार्य यही आर्थिक वर्षमा अघि बढाउने सहमति भएको छ । साथै घाइतेहरूको उपचारको लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता दिनेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया