काठमाडौं, ९ कात्तिक- एमाले र माओवादी केन्द्रले दाबी कायमै राखेपछि वाम गठबन्धन कार्यदलले १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । प्रत्यक्षतर्फ मनोनयनको एक साता बाँकी रहँदा कार्यदलले १५ जिल्लाको सहमति जुटाउने जिम्मा शीर्ष नेता सम्मिलित संयोजन समितिलाई नै दिने भएको छ ।संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन भए पनि १५ जिल्लामा सहमति जुट्न नसकेपछि संयोजन समितिलाई जिम्मा दिने निष्कर्षमा कार्यदल पुगेको हो । ‘मिल्न बाँकी जिल्लाको जिम्मा संयोजन समितिलाई दिने भएका छौं,’ कार्यदल सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘कार्यदलले नसकेपछि शीर्ष नेताले नै सहमति गर्नुहुनेछ ।’