पर्सामा बलात्कार, हत्या लगायतका गम्भीर अपराधका घटनामा वृद्धि, नियन्त्रणमा चुनौति

पर्सा । पर्सामा गत आर्थिक वर्ष २०७९/८० मा ७८ वटा गम्भीर प्रकृतिका मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका गत वर्ष ७८ वटा मुद्धा दर्ता भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत वर्ष गम्भीर प्रकृतिका अपराधका घटनाहरु बढेका हुन् । अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणी (बलात्कार), जबरजस्ती करणी उद्योग, कर्तव्य ज्यान (हत्या), बाल यौन दुर्व्यवहार, मानव बेचबिखनलगायतका ६६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी कोमल शाहले जानकारी दिए ।

‘पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भीर अपराधका घटनाहरूमा वृद्धि भएको तथ्यांकले देखाएको छ,’ उनले भने । उनका अनुसार गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कारका ४९ र बलात्कारको प्रयासका ५ वटा गरी ५४ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै कर्तव्य ज्यान (हत्या) सम्बन्धि १६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कर्तव्य ज्यान सम्बन्धी ११ वटा मात्र मुद्दा दर्ता भएको थियो ।

‘यस्ता घटनाहरू सामाजिक दबाब लगायतका कारणले गाउँघरमै मिलापत्र गराएको भेटिन्थ्यो,’ शाहले भने, ‘प्रहरीसामु ती घटना आउनै पाउँदैनथ्यो तर पछिल्लो समय जनचेतना बढ्दै गएको छ, प्रहरीकोमा पुगे न्याय पाइन्छ भन्ने प्रहरीप्रतिको जनविश्वास बढ्दै गएको छ ।’

तर, यस्ता घटनालाई नियन्त्रण गर्न भने चुनौति भइरहेको उनले बताए । बलात्कार, हत्यालगायत गम्भीर अपराधका घटनामासमस्या नियन्त्रण गर्न चुनौतीपूर्ण बन्दै गएको छ । बढ्दो समस्यालाई नियन्त्रण गर्न पर्सा प्रहरीले अभियान चलाइरहेको भएपनि प्रभावकारी देखिएको छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?