एउटा अविस्मरणिय भ्यालेन्टाइन डे !

भानू दाहाल 

एक साँझ अपरिचीत युवतीको इन्बक्स् मेसेज आयो, ‘हाइ ! हजुरलाई भेट्नु पर्ने जरुरी काम छ, भेटौँ न ।’ मेसेजको जवाफ फर्काउनु भन्दा पहिला मैले त्यो नामको प्रोफाईल खोलेर हेरेँ । प्रोफाइल पिक्चर भन्दा अरु केही नदेखिने गरि लक गरिएको रहेछ । कतै चिनजान थियो कि भनेर, देखिने त्यहि एउटा फोटो निक्कैबेर नियालेर हेरेँ । अँह सम्झिन सकिन ।  

‘को हो तपाई ? किन भेट्नु पर्ने ?’ मैले ठाडो भाषामै रिप्लाई गरेँ । 

‘मलाई भेटेपछि चिन्नुहुन्छ । किन भेट्न खोजेको पनि थाहा भैहाल्छ नी ।’ उनको यो रिप्लाई झन् सस्पेन्स राख्ने खालको थियो । 

‘नचिनेको मान्छेसँग के भेट्नु ? के कुरा हो यहिँ मेसेजमा भने हुन्छ’, मैले भनेँ । 

‘मेरो परिचय दिएँ भने पक्कै चिन्नुहुन्छ । तर, म अहिले भन्न चाहन्न । सवै कुरा भेटेरै भन्छु । अन्यथा नसोच्नुस्, नराम्रो पनि नसोच्नुस् । प्लिज..एक पटक भेटौँ ।’ 

मेरो माथिंगल पुरै रिङ्गियो । कोही चिनेकै केटीले फेक एकाउन्टबाट जिस्काईरहेको हो कि भन्ने लाग्यो । मेसेजको खासै वास्ता गर्न छोडेँ । तैपनि लगातार मेसेज आईरह्यो । त्यसपछि परिचय नदिएसम्म नभेट्ने अडान राखिरहेँ । 

केही नलागेपछी अन्ततः उनले आफ्नो परिचय दिईन् । जव उनलाई उनको बहिनी भनेर चिनेँ, म एकाएक गहिरो निन्द्राबाट झल्याँस् बिउँझिएँझै भएँ । गर्लम्मै स्मृतिको पहाडले थिच्यो । 
***
क्लासमा उनको प्रवेश भएकै दिन देखी उनी मेरो आँखामा परिसकेकी थिईन् । मेरो आँखामा मात्र होईन, उनको सुन्दरताले क्लासका अरु केटाहरु पनि मोहित भईसकेका थिए । अव केटाहरु बिच कसले पट्याउँने भन्ने होडबाजी सुरु नहुने कुरै थिएन । राम्रो चिज कसलाई मन नपर्ला र !

एकदिन क्लास सकिएपछि निस्कदै गर्दा पार्किङ्मा सँगै भयौँ । यो संयोग थियो । उनलाई स्कुटर निकाल्न गाह्रो परिरहेको थियो । मैले हेल्प गरिदिएँ, मुसुक्क हाँस्दै ‘थ्यांक यु’ भनिन् । त्यँहा उनी र म मात्र थियौैँ । फ्रेण्डसिप सुरु गर्ने उपयुक्त मौका यहि हो भन्ने लाग्यो । 

अलि नजिकै गएर भनेँ, ‘लेट्स ह्याभ अ कप अफ कफि’ मेरो यो सिधा अफरले उनी अक्मकाईन् । 
‘ओ ! नो थ्याङ्क्स् ।’ उनी स्कुटर चडेर बाहिरिन् । उनको यो जवाफ अपेक्षित नै थियो ।  
दुईचार पटक आँखा जुधेकै भरमा उसले अफर स्विकार नगर्नु स्वभाविक नै हो । उ सुन्दर थिई, त्यस्ता अफर गर्ने त सयौँ थिए होलान् । उसँग नजिक हुन चाहनेहरुकै भिड मध्येको एक न थिएँ म पनि ।

मैले त्यसरी सुरुमै त्यो अफर राख्नु उचित नहुन पनि सक्थ्यो । सुरुवाती बोल्ने बहानाका अनेकन फर्मुला छन् । तिनै मध्ये एक हो कफी पिउने अफर । म भन्दा पहिला क्लासका अरु केटाहरुले पनि यस्तो अफर नराखेका होईनन् । तर, सबैलाई उसको एउटै रेडिमेड जवाफ त्यही हुन्थ्यो– नो थ्याङ्क्स् । 

केटी मान्छेमा सुन्दरताको घमण्ड हुन्छ नै । उ पनि सुन्दर छे, केहिहद सम्मको उसको घमण्ड जायज नै थियो । मैले उसलाई कहिल्यै पनि डिस्ट्रर्भ हुनेगरी फलो गरिन् । न त फेरी कहिल्यै कफि पिउने अफर नै गरेँ । एउटै क्लास भएपछि भेट त भईनैरहन्थ्यो । आमनेसामने हुँदा फिस्स मुस्कुराउँनु र सामान्य ‘के छ ?’ भन्नु भन्दा बढी अरु केही थिएन । 

तर जसरी दिनहरु बित्दै गए, विस्तारै उनी म प्रति आकर्षित हुँदै गएको मैले महसुस गरिसकेको थिएँ । क्लासमा अलि धेरै पटक आँखा जुध्न थालिसकेका थिए । क्यान्टिनको भेट पनि बाक्लिन थालेको थियो । अझ उनका केटी साथीहरुले, उनी म प्रति आकर्षित भएको खबर गोप्य रुपमा मलाई सुनाईरहेका थिए । तर म केहि थाहा नभएको जस्तो गरेर चुपचाप थिएँ । 

एक साँझ उनको नामबाट टुप्लुक्क मेसेज आयो– ‘हाई, हिरो सन्चै छौ ?’ 
‘बिसन्चो भएको भए त के अन्लाईन बस्थेँ होला त !’ मैले जिस्किँदै रिप्लाई गरेँ । 
‘कस्तो छुच्चो केटा होला के !’ इस्माईली इमोजी राखेर पठाईन् । 
फेसबुकमा हामी अलि अघि देखीनै साथी भएको भएपनि यो नै मेसेन्जरमा हाम्रो पहिलो कुराकानी थियो । गफगाफको सिलसिला मध्ये रात सम्मै तन्कियो । गफ टुङ्ग्याउन लाग्दै गर्दा सोधिन्–
‘कफि खुवाउँने अफर थियो नी, खुवाउँदैनौ ?’ 
झण्डै छ महिना अघि राखेको प्रस्ताव उनी आज आएर सम्झाउँदै थिईन् । त्यो दिन उनले नो थ्याड्क्स् भनेकै क्षण मनमनै भनेको थिएँ– ‘ठिकै छ, एकदिन तिमीले नै मलाई कफिको अफर गर्ने छौ । त्यो दिन सम्म कुरि बसौँला ।’ त्यो दिन आईपुग्न भने बर्ष दिन पनि कुर्नु परेन । 
‘खुवाउँछु । भोली क्लास सकिएपछि भेटौँ न त ।’ मैले रिप्लाई गरेँ । 
‘नो, तिमी सँगको फस्र्ट कफि डेट त्यस्तो नर्मल्ली होईन । अर्को महिना १४ फेब्रुअरी आउँदै छ, त्यहि दिन बसौँ है ।’ 
मैले हुन्छ भनेँ । बहाना कफिको भएपनि हामी भित्र फुलिरहेको प्रेमको आर्कषण नै थियो त्यो भेट । उनले यस्तै सोचेर नै त्यो बिशेष दिन भेटौँ भनेको थिईन् सायद । मलाई त्यो रात अबेर सम्मै निन्द्रा लागेन । उनलाई पहिलो दिन क्लासमा छिर्दै गर्दा देखेको देखी विहान पार्किङ्बाट सँगै छुट्टिएको क्षण सम्मको फ्ल्यासव्याक मानसपटलमा घुमिरह्यो ।
भोलीपल्ट देखी पनि सदाझै क्लास त उही थियो । तर, हाम्रो हेराई, भेटाई र गफगाफमा भने धेरै भिन्नता । हामी विस्तारै प्रेमको डुगाँमा सयर गर्न थालेको थियौँ । प्रेमको आँखाबाट देखिने संसार भन्दा सुन्दर अर्को संसार हुनै सक्दैन । साच्चै आनन्ददायी, साच्चै मिठो । म पहिलो पटक त्यो आँखाबाट मायाको संसार नियाल्न खोज्दै थिएँ । सायद उनी पनि । 
आजभोली भन्दाभन्दै भ्यालेन्टाइन डे आईपुग्यो । बेलुका ६ बजे, क्याफे लाभा लाजिम्पाटमा भेट्ने सल्लाह ग¥यौँ । पहिलो डेट त्यो पनि प्रणय दिवसको दिन, यादगार बनाउँनु पर्छ भन्ने लाग्यो । उनलाई के गिफ्ट दिने होला भन्ने सोच्न थालेँ । केही आईडिया भएन । एकजना साथी जो प्रेममा थियो, उसलाई मेसेज गरेँ, ‘ओई, हुनेवाली तेरो भाउजुलाई भोली भेट्नु छ, के गिफ्ट गरौँ ? एउटा राम्रो चिज सजेस्ट् गर् त ।’
‘लिङ्गेरी दे न ।’ उसको रिप्लाई आयो । 
‘ह्या मुला ! सुरुमै ब्रेकअप गराउँन लागिस् कि क्या हो ?’  
उसले औँठी दिन सुझायो । मैले पानको पात मोडलमा बनेको सानो हिराको औँठी किनेँ । किनिसकेपछि चाँही गल्ति गरेँ कि भन्ने महसुस भयो । हाम्रो समाजले औठीलाई इन्गेजमेन्टको प्रतिक मान्छ । अहिले नै उनलाई त्यो दिनु गलत पनि हुन सक्थ्यो । अझ उनले त्यसलाई कसरी रियाक्ट गर्छिन् भन्ने खुल्दुली त छँदै थियो । 
क्याफे लाभामा उनलाई कुर्दाकुर्दै मैले दुई कप कफि सिध्याएपछि बल्ल उनी झुल्किईन् । हस्याङ्फस्याङ् गर्दै आईपुगेर आफ्नो ड्रेस देखाउँदै सोधिहालिन्, ‘म कस्तो देखिएकी छु ?’  

‘वाह ! यु लुक भेरी व्युटिफुल, एण्ड नाईस ड्रेस’, मैले भनेँ । 
राम्री त उ यसैपनि थिई, जस्तो ड्रेसअपमा पनि ट्याक्क सुहाउँने । तैपनि उसलाई अझ मख्ख पार्ने नियतले मैले त्यो ड्रेसको झन् बढी प्रशंसा गरिदिएको थिएँ ।  

उ मख्ख परी । थोरै प्रशंसा गरिदिँदा फुरुङ्ग हुन्थी । उसलाई बरु खानासँग कुनै मतलव थिएन तर लाउनमा भने निकै क्रेजी । एकदिन यस्तै प्रसंगमा सोधेको थिएँ, ‘केटाहरुलाई आकर्षित गर्नलाई नै यति मेहनत गरेर थरिथरिको ड्रेसअप ग¥या हो ?’ 

उनले मुस्कुराउँदै भनेकी थिईन्, ‘अँ हो, कुनै दिन केटाहरुले आफ्नो ड्रेसअपमा आँखा लाएनन् भने त वेलुका घर पुगेर रुन मन लाग्छ । आज मेरो पहिरनमा केही खराबी थियो कि भनेझै लाग्छ । राम्रो देखिन कसलाई मन नलाग्ला र !’

उनी सुन्दरताको एउटा प्याकेज नै थिईन् । त्यस्तो उच्च डे«सअपको आवश्यकता नै थिएन । रुप नहुनेले हो ड्रेसअपले आर्कषण बढाउने त । अकबरे सुनलाई कहाँ कसी लाउनु पर्छ र ! तर, उनी आँफैलाई आफ्नो सुन्दरता थाहा थिएन कि ! कस्तुरीलाई आफ्नै सुवास थाहा नभएर त्यहि खोज्दै भौँतारिए जस्तो ।  

‘मैले आँखा लाइसकेँ त, अव फेरी दुनिँयालाई आकर्षित गर्न ड्रेसअप गरिरहनु पर्छ र ?’ मैले जिस्काउँदै सोधेँ । 

‘तिमीलाई त म नाङ्गै भएको धेरै मनपर्छ होला नी । ड्रेसअप त अरुको लागि नै हो ।’ उनले हाँस्दै भनिन् । मेरो पनि हाँसो रोकिएन । छेउछाउको अरु टेवलले सुन्यो कि भनेर पल्याकपुलुक हेरेँ । सवै जोडी आ–आफ्नै दुनियाँमा मस्त थिए । 

क्याफे भ्यालेन्टाइन स्पेशल थियो । सजावट, म्युजिक मात्र होईन त्यो साँझको हावानै भ्यालेन्टाइनमय थियो । रुमानी त्यो साँझमा प्रत्येक टेवल प्रेमिल जोडीको रातो गुलाव र गिफ्टले सजिएको थियो । हामीले कफि अर्डर ग¥यौँ, लङ् ब्ल्याक र लाट्टे ।  

मैले उनलाई त्यो औँठी लगाईदिएँ । उनी छक्क परिन् । उनले यति सम्म होला भन्ने सोचेकै थिईनन् । जुरुक्क उठेर अंगालोमा बरेर चुम्बन गरिन् । छेउका टेवलको जोडीले पनि उठेर ताली बजाए । शुभकामना दिए । एकाएक हाम्रो जोडी त्यँहा आईडल जोडी नै बन्यो । यो सवै नियाली रहेको क्याफेले सप्र्राइज केक नै ल्याईदियो, केक काट्यौँ । सबैलाई बाढ्यौँ ।  
सामान्य कफि डेट सोचेको भ्यालेन्टाइन डे एकाएक इन्गेजमेन्ट जस्तो बन्यो । त्यँहाबाट अबेर राती घर फक्र्यौँ । घर पुगेर उनले मेसेज गरिन्– राजा म घर आईपुगेँ है । मैले पनि घर आईपुगेको जानकारी गराएँ । 
भोलीपल्ट उनी कलेज आईनन् । बेलुका कल गर्न खोजेँ, मोवाईल स्विच अफ थियो । फेसबुक चेक गरेँ, त्यँहा पनि अनलाईन भेटिन । कलेजका उनका मिल्ने साथीहरुलाई सोधेँ, उनीहरुलाई पनि केही थाहा थिएन । उनी सम्म पुग्ने अरु माध्यम केहि थिएन ।  
घण्टा, दिन, हप्ता, महिनाहरु बिते न उनी कलेज आईनन्, न फोन फेसबुकनै अन भयो । अचम्म लाग्यो । के मान्छे एकरातमै यस्तो परिवर्तन हुन सक्छ ? उनी परिवर्तन भईन कि बाध्यता त्यस्तो प¥यो, मैले खुट्याउँन सकिन ।   
यसरी टाढीनुपर्ने कुरा के पर्यो भन्ने सोँचले मथिंगल हल्लियो तर जवाफ भेटिएन । 
म एकाएक शुन्यतामा पुगेँ । फर्किएर सोच्दा एउटा मिठो सपना जस्तो लाग्यो । मलाई अव कलेज जान मन लाग्नै छोड्यो, कजेल छोडेँ । उनले मलाई धोका दिएको अनुभुती भयो । रिसको पारो चड्यो, फेसबुकमा ब्लक गरेँ । मोवाईल नम्बर पनि डिलिट गरेँ । तर, गहिरो गरि दिलमा बसेको मान्छेलाई न ब्लक गर्न सकेँ, न डिलिट । 

***
यत्रो महिना सम्म एक अर्काको अस्तित्व यस संसारमा छ कि छैन भन्ने सम्म थाहा नहुने गरी टाढिएको हाम्रो सम्बन्धमा एकाएक उनको बहिनीको त्यो मेसेजले फेरी एकपटक हलचल ल्याईदियो । मनमा अनेक शंका उपशंकाहरु खेल्न थाले । यो तड्पाईमा बसिरहनु भन्दा बरु तत्काल उनलाई भेट्नुमा भलो छ भन्ने लाग्यो । 
तत्कालै उनलाई मेसेज गरेँ– आजै भेटौँ, कँहा भेट्ने ?
‘आज होईन, पर्सि भ्यालेन्टाइन डे को दिन । क्याफे लाभा, लाजिम्पाट । बेलुका ६ बजे ।’ 
उनको यो रिप्लाई देखेर म छक्क परेँ । उनको दिदीसँग जुन दिन, जुन ठाँउमा, जुन समय भेटेको थिएँ उनले पनि ठ्याक्कै त्यहि भनिन् । पक्कै उनलाई हाम्रो सबै कुरा दिदीले भनेको हुनुपर्छ, मेरो अनुमान थियो । कतै दिदी नै बहिनीको नामबाट त बोलिरहेको होईन भन्ने अर्को आशंका पनि थियो । मनमा यस्तै शंकाको हुण्डरी चल्न थाल्यो । उनले कुराएको अठ्चालिस घण्टा व्यतित गर्दा अठ्चालिस बर्ष गरेझै महसुस भयो । 
अन्ततः त्यो दिन आईपुग्यो नै । ६ बज्नु भन्दा आधा घण्टा अगाडी नै क्याफेमा पुगेर घडि हेर्दै कुरिरहेँ । उनले भने वमोजिम म बसेको टेवल नम्बर उनलाई टेक्स्ट गरिदिएँ । उनी झण्डै आधा घण्टा ढिला गरेर आईपुगिन् । 
उनी फुङ्ग उडेको उदास अनुहार, वेवास्ता गरेर कोरेको जस्तो कपाल अनि अल्छि मानेर गरेको डे«सअपमा टिठ लाग्दो हुलियामा थिईन् । मैले कफि अडर गरेँ । सुरुमै दिदीको खबर सोधेँ । 
उनले लामो सुस्केरा हाल्दै भनिन्, ‘तपाईँलाई किन भेट्न खोजेँ भन्ने नै मलाई थाहा छैन । भेट्न आवश्यक थियो कि थिएन भन्ने पनि थाहा छैन । तर केही दिन अगाडी कोठा सफा गर्दैगर्दा दिदीको डायरी भेट्टाएको थिएँ । त्यसमा तपाईँ र उसको पहिलो देखादेख देखी पोहोर भ्यालेन्टाइन डे मनाएर घर पुगेको सम्मको सवै कहानी लेखिएको रहेछ । त्यो पढिसकेपछि तपाईँलाई भेट्ने हुटहुटी चल्यो । अनि मेसेज…’
उनलाई बिचमै रोक्दै सोधेँ, ‘अनी तिम्रो दिदी चाँही कहाँ छिन् ?’ 

‘कोमामा’ 

‘ह्वाट् ! ह्वाट्…’ म एकाएक छाँगाबाट खसेजस्तो भएँ । आकाश खसेर गर्लम्मै थिचे जस्तै भयो । वरिपरी निष्पट्ट अध्यारो लाग्यो । म केही बोल्नै सकिन । उनलाई एकोहोरो हेरिरहेँ ।
‘यहीँबाट तपाईँसँग छुट्टिएर घर पुगेपछि राती अबेर सम्म केही लेखेर बसेको सम्म थाहा पाएको थिएँ । राती कति बेला सुति भन्ने पनि थाहा थिएन । विहान पाँच बजेतिर बाथरुममा लडिरहेको भेटेर तत्काल हस्पिटल लग्यौँ । ब्रेन ह्याम्रेज भएछ । यहाँ एक महिना राखेर थप उपचार गर्न दिल्ली लग्यौँ । त्यहाँ सात महिना राखेर उपचार भयो । ठिक नभएपछि डाक्टरले अव घरमै लगेर राख्नु भनेपछि घर ल्यायौँ ।’ 

उनीसँग एकपटक मलाई भेटाईदिन भनेँ । हामी उनको घरतर्फ लाग्यौँ । 

उनी बेडमा लमतन्न सुतेको थिईन । जिर्ण शरिर । आँखा बन्द । खाना खुवाउन मुखमा फुड पाइप लगाएको थियो । केहि हलचल थिएन । उनको अनुहारको त्यो तेज, चञ्चलपना र शरिरको मादकता लुटिईसकेको थियो । 

खुला आकाशमा उड्दै गर्दा देखेको त्यो पन्छी कतै पिजडामा थुनिएको जस्तै लाग्थ्यो । यो अजब संसारमा उ कसरी बाँचिरहेकी छ, त्यो म अनुमान मात्र लगाउन सकौँला । मलाई सुनाएको उनको जीन्दगीका रहर र सपनाहरुको चिहान हेर्दे म निक्कैबेर टोलाईरहेँ । 

म निशब्द थिएँ । नजिकै गएर सुस्तरी हात सुमसुमाएँ । मैले लाईदिएको उही औठी उस्तै गरी टल्कीरहेको थियो । बोल्ने भए त्यहि औठीले भन्थ्यो होला त्यसपछिको उनको सबै कहानी ।  
निस्कनु अगाडी उनको निधारमा चुम्दै अन्तिम पटक भनेँ– ह्याप्पी भ्यालेन्टाइन डे प्यारी ! 

समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित यात्रा संस्मरणको प्रकाशित अंक पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?