लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।
आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए । सो अवसरमा नगरप्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताए ।
विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।
चितवनकै रत्ननगर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया