काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ: खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरता पूर्वक सरकारले हल गर्न खोजिरहेको बताएका छन् । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताएका हुन् । उनले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताए । 

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिएपनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।” 

केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गरे । उनले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताए । 

कार्यक्रममा किर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गरे । 

मन्त्रालयका सहसचिव तेजराज भट्टले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्ने बताए । 

कार्यक्रममा मन्त्री मगरले केयुकेएलमा कार्यरत उत्कृष्ट कर्मचारीहरु र अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?