रेडक्रसको वर्तमान अवस्थाबारे अन्तरक्रिया सम्पन्न

लोकपथ
182
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै आगामी कार्यदिशाका बारेमा सञ्चार जगतसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय पत्रिका, टेलिभिजन, रेडियोका साथै अनलाइन सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित अध्यक्ष प्रा. सुर्दशनप्रसाद नेपालले संस्थाको नवीकरण, रेडक्रस कानुनको निर्माणमा पहल र साधारण सभा गरी यथाशक्य चाँडो मानवीय सेवाका गतिविधिहरूलाई अझ बढी प्रभावकारी रूपमा अघि बढाउने बताए ।

अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूबाट उठेका जिज्ञासाहरूलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वका एक सयभन्दा बढी देशमा कानुन निर्माण गरी राष्ट्रिय रेडक्रस सोसाइटीहरू सञ्चालित रहेको जानकारी गराउँदै नेपाल रेडक्रसको पनि कानुनी आधार बलियो बनाउन रेडक्रस ऐन निर्माणको लागि सरकार, सरोकारवाला र सञ्चार माध्यमहरूको भूमिका महत्वपूर्ण रहने बताए ।

यस्तै सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले विधानबमोजिम नयाँ कार्यसमिति निर्वाचित भई आइसकेको अवस्थामा रेडक्रसका गतिविधिहरू अझबढी प्रभावकारी रूपमा सञ्चालन गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने बताए ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सोसाइटीको केन्द्रीय कार्यसमितिको निर्वाचनसम्बन्धी विवरण प्रस्तुति गरेका थिए। सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक एवं सूचना अधिकारी धर्मदत्त विडारीले असहज परिस्थितिका बाबजुद राहत उद्वार, रक्तसञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार, आँखा उपचार सेवा र विकास कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित कोषाध्यक्ष बीरवहादुर बस्नेत, केन्द्रीय सदस्यहरू विनोद बस्नेत, विष्णुप्रसाद नेपाल, नारायणप्रसाद तिमिल्सिना, शिवकुमार कार्की र नेपाल रेडक्रस सोसाइटीका निर्देशक र अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?