कोशी प्रदेश सरकार विवाद : आज आदेश आउने

लोकपथ
70
Shares

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले आज आदेश गर्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भएको थियो । रिटमाथिको बहस बुधबार सकिएपनि हेर्दाहेर्दैमा राखिएको हो ।

सोमबार दुई न्यायाधीश सम्मिलित इजलासले कोशी प्रदेश सरकार गठनको मुद्दा जटिल कानुनी विषय भएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पेश गर्नेगरी आदेश गरेको हो । पूर्ण इजलास तीन वा भन्दा बढी न्यायाधीश सम्मिलित हुने गर्दछन् । अब कोशी प्रदेशको विवाद सर्वोच्चको पूर्ण इजलासले मुद्दाको किनारा लगाउने भएको हो ।

असार २२ गते कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको उद्धव थापा नेतृत्वको सरकारविरुद्ध एमाले निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दायर गरेका थिए । थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गर्दै कार्कीले रिट दायर गरेका हुन् ।

उक्त रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृत्वको सरकार कायम रहेको ठहर गरी दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश गरेको थियो । साथै, प्रधानको इजलासले निरन्तर सुनुवाइका लागि साउन ७ गतेको मिति तोकर सुनुवाइ सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?