तथ्याङ्कमा काठमाडौं जिल्ला : जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौं सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो ।

देशका अरू जिल्लाको तुलनामा काठमाडौंमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ जना छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ९८ जना छ । दश वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर एक सय ८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर चार सय ६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व रहेको छ ।

जिल्लागत रुपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा रहेको छ । काठमाडौंमा प्रतिवर्ग किलोमिटर पाँच हजार एक सय ६९ जना रहेका छन् । सबैभन्दा कम जनघनत्व मनाङमा छ । मनाङमा प्रतिवर्ग किलोमिटर तीन जना मात्रै जनघनत्व रहेको छ । काठमाडौंको जनसङ्ख्या हेर्दा १० लाख ३५ हजार सात सय २६ जना पुरुष र १० लाख पाँच हजार आठ सय ६१ जना महिला रहेका छन् ।

काठमाडौंमा प्रतिघरधुरी औसत जनसङ्ख्या तीन दशमलव ७५ जना छ । यहाँको जनसङ्ख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको सङ्ख्या दुई लाख २६ हजार छ सय ६० जना छ ।

जुन काठमाडौं जिल्लाको कुल जनसङ्ख्याको ११ दशमलव १० प्रतिशत बराबर हो । त्यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसङ्ख्या दुई लाख १५ हजार एक सय २० जना छ । यो जिल्लामा ९० वर्ष माथिका नौ सय ८० जना छन् । काठमाडौं जिल्लामा मात्र पाँच लाख ४२ हजार आठ सय ९२ परिवार बसोबास गर्छन् । जसमध्ये तीन लाख ६२ हजार एक सय ४७ परिवारको मूली पुरुष र एक लाख ८२ हजार सात सय २० परिवारको घरमूली महिला रहेका छन् ।

काठमाडौंमा कूल विवाहितको सङ्ख्या १७ लाख ८८ हजार ६२ जना छ । जसमध्ये विवाहित पुरुषको सङ्ख्या आठ लाख ९८ हजार तीन सय ५२ र विवाहित महिलाको सङ्ख्या आठ लाख ८९ हजार सात सय १० जना रहेको छ ।

यहाँ छयालीस हजार ९६ विधवा र नौ हजार सात सय ५५ विदुर रहेका छन् । एक हजार तीन सय ३८ जना पुरुष र दुई हजार आठ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्याङ्कमा उल्लेख छ ।

यो जिल्लामा पाँच वर्षभन्दामाथि उमेरका ५२ हजार नौ सय ५२ जना पुरुष र एक लाख ४४ हजार तीन सय ९५ जना महिला गरी कुल एक लाख ९७ हजार तीन सय ४७ जनाले लेख्न र पढ्न सक्दैनन् । एक लाख ४९ हजार आठ सय ६ जना पुरुष र एक लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन् ।

खाना पकाउनका लागि काठमाडौंका १० हजार दुई सय ७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै, पाँच लाख २६ हजार नौ सय ३१ परिवारले खाना पकाउने ग्यास, चार हजार छ सय ९४ परिवारले बिजुली, पाँच सय ६१ परिवारले बायो ग्यास, एक सय ५७ परिवारले मट्टितेल र दुई सय ७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन् ।

काठमाडौंका पाँच सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छ्रैनन् भने एक हजार तीन सय पाँच परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन् । काठमाडौं जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका तीन लाख ४९ हजार दुई सय ७४ जना पुरुष र पाँच लाख तीन हजार दुई सय ८१ जना महिला गरी आठ लाख ५२ हजार पाँच सय ५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले उल्लेख गरेको छ ।

पछिल्लो एक वर्षमा कुनैपनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये तीन लाख ७६ हजार नौ सय ५४ जना विद्यार्थी, एक लाख ९८ हजार छ सय ३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार एक सय तीन जना वृद्ध तथा १६ हजार ११ जना शाररिक रुपमा अशक्त छन् । पाँच लाख १२ हजार चार सय २७ जना जागिरमा रहेको, ३२ हजार तीन सय ८८ जनाले अरुलाई जागिर दिइरहेको, दुई लाख ८२ हजार पाँच सय ५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र एक लाख आठ हजार १३ जनाले पारिपारिव व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ ।

अठार वर्षभन्दा मुनिका बालबालिकाको सङ्ख्या पाँच लाख आठ हजार तीन सय ९९ जना रहेकोमा आमाबुबा दुवै अविभावकसँग बस्नेको सङ्ख्या चार लाख दुई हजार एक सय ७४, आमासँग मात्रै बस्नेको सङ्ख्या ५५ हजार तीन सय ६९, बुबासँग मात्रै बस्नेको सङ्ख्या सात हजार दुई सय, बुबा र सौतेनी आमासँग बस्नेको सङ्ख्या आठ सय ७७, आमा र सौतेनी बुबासँग बस्नेको सङ्ख्या दुई सय २८, अन्य नातेदारसँग बस्नेको सङ्ख्या २८ हजार तीन सय ४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको सङ्ख्या नौ सय ७१ जना रहेको छ ।

काठमाडौंमा दुई लाख ५८ हजार एक सय ३८ आवासीय प्रयोजनका, २४ हजार चार सय ७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, तीन हजार एक सय ७५ वटा सरकारी, तीन हजार एक सय २५ वटा शैक्षिक, ६ सय ६७ वटा स्वास्थ्य क्षेत्रका, तीन हजार आठ सय ९२ वटा उद्योग क्षेत्रका, छ सय ६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, तीन हजार २४ वटा होटल तथा लज, चार हजार दुई सय ७६ वटा भण्डारण तथा गोदाम रहेका भवन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?