सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ: अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् ।

उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए । उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भिर आरोप लगाए ।

उनले भने,‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो ।’ 

उनले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने सनसनीपूर्ण घोषणा गरे । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे । उनले भने,‘राजतन्त्र फर्किन सक्छ ।’

राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गरे । उनले भने,‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए । उनले भने,‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो ।

यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाईपल्टाई हेर्यौं भने मौका खेर फालेको पाईन्छ । सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शुन्य छ।’

व्यापार घाटापनि डरलाग्दो रहेको उनको भनाई छ । उनले भने,‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन् । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन् ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ । 

उनले अघि थपे,‘बुढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिईयो ? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन ? म प्रश्न गर्न चाहन्छु।’ त्यस्तै उनले वाईडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाए । 

कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए । उनले भने,‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतीर ढल्केका छौं।’ उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे । उनले भने,‘भित्तासित कुहिनो ठोक्ने काम भयो । यस्तो गर्नुहुँदैनथियो ।

भेनेजुयलासँग नेपालको दौत्य सम्बन्ध छ कि छैन मलाई त सन्देह नै लाग्छ।’

सरकारले कुटनीतिक रुपमा कुनै पनि सिप तथा क्षमता देखाउन नसकेको उनले आरोप लगाए । उनले भने,‘सरकारले सही काम गरेकै छैन् ।’ यद्धपी उनले राजनीतिक रुपमा भने प्रधानमन्त्री सफल भएको दाबी गरे । उनले भने,‘किनभने उहाँले दुई तिहाई बहुमत ल्याउनुभयो।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन् । उनले भने,‘अहिले युद्धस्तरमा विकास निर्माणका काम भैरहेको छ। बाटाहरु धमाधम चार लेनबाट ६ लेन, र ६ लेनबाट ८ लेनमा स्तरोन्नती भैरहेका छन् ।’

जनताको घरदैलोमा परिवर्तन नदेखिए विकास निर्माणका कामहरु धमाधम भैरहेको उनको भनाई थियो । उनले भने,‘म यो बीचमा पुर्व–पश्चिम यात्रामा निक्किएको थिएँ । मैले धुलो उडिरहेको देखें । डोजर चलिरहेको देखें । अब त बल्ल विकास भयो भन्ने मलाई लागेको छ ।’

सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरु गरिरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘भारतसँग पिटिए भएको छ । यो हाईडा«े क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । थप हवाई रुट दिने सहमति भएको छ ।’

त्यस्तै केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भैसकेको उनले जनाए । भारतबाट काठमाडौं रेल आउने, पुर्व–पश्चिम रेलमार्गको पनि काम भैरहेको लगायत विकास निर्माणका फेहरिस्त उनले सनाए । 

बडालले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे । यद्धपी उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाईएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे । सरकार अझै प्रभावकारी र अझै सशक्त रुपमा प्रस्तुत हुनुपर्छ भन्ने जनताको चाहनालाई आफूहरुले स्वभाविक रुपमा लिएको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?