फुटबलमा भारतविरुद्ध नेपाललाई जिताएर इतिहास रच्ने ‘साम्बा’ अर्थात् सावित्रा भण्डारी

काठमाडौं । ब्वाइज कट हेयर स्टाइल, त्यसमा स्लिम र फिट देखिने युवती ।

५ फिट ५ इन्च अग्ली झट्ट हेर्दा पुरुष जस्तै देखिन्छिन् उनी । नेपाली महिला टिमकी ‘साम्बा’ अर्थात् सावित्रा भण्डारी नेपाली खेल जगतमा मात्र होइन, सर्वाधिक गोल गरेर ‘गोल मेसिन’ का नामले समेत दक्षिण एशियामा चर्चित छिन् । 

तीव्र गति, सटिक प्रहार अनि कलात्मक शैली । उनको यो कलात्मक प्रदर्शनले जो कोही पनि चकित पर्छन् । तर, उनलाई यो चर्चा पाउन थोरै मेहनत गर्नुपरेको थिएन ।

साम्बाले सुनाइन्, ‘मैले फुटबल खेल्नु त कल्पनाको कुरा, गाउँमा हुँदा फुटबल पनि देखेकी थिइनँ ।’

बाल्यकालमा नाङ्गो खुट्टाले थोत्रो मोजाको बल खेलेको सुनाइन् ।

‘म लमजुङमा जन्मिएकी हुँ, मलाई सानैदेखि नै फुटबल खेल्न मन पथ्र्यो, भविष्यमा राम्रो खेलाडी बन्छु भन्ने थियो, त्यहि अनुरुप अवसरपनि पाए’, उनले पुरानो कुरा सम्झिदै भनिन् । 

उनको बढ्दो उमेरसँगै फुटबल प्रतिको लगाव झन बढ्दै गयो । ‘गाउँमा खेल खेल्ने क्रममा पहिलो पटक शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लबमा आवद्ध भएकी थिए, त्यहिबाट मैले जिरो लेभलबाट नै प्रशिक्षण शुरु गरे, कडा मेहनत र प्रशिश्रमले नै आज राष्ट्रिय खेलाडी समेत बनेकी छुँ’, साम्बाले बताइन् । 

पुरानो दिनलाई सम्झिदै उनले भनिन्, ‘चाडबार्डको बेलमा गाउँघरमा आयोजना हुने फुटबल हेर्न म सबै भन्दा पहिले पुग्थे, म जहिले पनि ‘बल म्यान’ जस्तै भएर मैदानको बाहिर बल छुने आशामा हुन्थे, बल पाए भने निशाना बनाएर मैदानमा हान्थ्ये ।’ 

कुनै समय भलिबल र एथ्लेटिक्समा समेत सहभागी हुने साबित्रा अहिले नेपाली महिला टिमका भरपर्दा स्ट्राइकर हुन् । उनीले एथ्लेटिक्स र भलिबलमा स्वर्ण र रजत पदक समेत जितिसकेकी छिन् । 

वि.सं २०७१ सालमा रौतहटमा तुलसीला अमात्य महिला कप फुटबल र प्रधानसेनापती कप फुटबलमा साम्बाले उत्कृष्ट प्रर्दशन गरेकी थिइन् ।  सोहि प्रर्दशनले नै उनले खेल जिवनमा ‘टर्निङ प्वाइन्ट’ समेत लिइन् ।

सन् २०१४ मा पाकिस्तानमा सम्पन्न साफ च्याम्पियनसिपमा उनले पहिलो पटक राष्ट्रिय टिमबाट डेब्यु गरिन् ।

डेब्यु प्रतियोगितामा नै उनले भुटानविरुद्ध गोल गर्न सफल समेत भइन् । त्यसयता उनले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रर्दशन गर्दै आइरहेकी छिन् । 

वि.स २०७३ सालमा प्रधानसेनापति कपमा उत्कृष्ट प्रर्दशन गर्दै उनी सर्वोत्कृष्ट फरवार्ड समेत चनिन । त्यस्तै महिला राष्ट्रिय महिला लिगमा उनी सर्वाधिक गोलकर्ता बन्दै उत्कृष्ट फरवार्डको अवार्ड समेत हात पारिन । 

भारतमाथि ऐतिहासिक जित
भारतमा जारी महिला हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा ‘साम्बा’को दुई गोलको मदतमा नेपालले भारतमाथि ऐतिहासिक जित दर्ता ग-यो । 

बलियो प्रतिद्धन्दीको रुपमा परिचित भारतलाई नेपालले पहिलो पटक पराजित गरेको हो । साफ च्याम्पियनसिप होस् वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता भारत फाइनलमा नेपालको जहिल्यै बाधक बन्थ्यो । तर, यसपटक नेपालले भारतको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै ऐतिहासिक जित समेत निकाल्यो ।

सोमवार भएको दोस्रो खेलमा नेपालका लागि ‘साम्बा’ नायक बनिन् । उनले भनिन्, ‘खेल सकिनै बितिक्कै आफुलाई रोक्नै सकिन र रुन मन लाग्यो ।’ 

‘हामीलाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाव थियो, त्यसै अनुरुप खेल पनि खेल्यौ, नेपाली टिमको डिफेन्स लाइन निक्कै राम्रो थियो, हामीले सोचेको भन्दा पनि राम्रो प्रर्दशन भयो, र भारतलाई सहजै पराजित गर्न सफल भयौं’, उनले लोकपथलाई बताइन् । 

साथै उनले भनिन्, ‘हामीले नेपालका लागि नयाँ इतिहास रच्न सफल भएका छौँ, नेपाली खेलाडी जहिल्यै भारतसँग डोभिनेट भएर खेल्नु पर्ने बाध्यता थियो, तर, आज हामीले त्यो सबै रेकर्डलाई ब्रेक गरेका छौँ ।’ 

भारतलाई हराएपछि अब साफ च्याम्पियनसिप पनि जित्न सक्छौँ भन्ने मनोबल बढेको ‘साम्बा’ बताइन् ।

‘साम्बा’को अन्तर्राष्ट्रिय खेल यात्रा 

‘साम्बा’ले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै आइरहेकी छिन् । उनले राष्ट्रिय टोलीबाट १७ क्याप खेल्दै १७ गोल समेत गरिसकेकी छिन् । 

‘साम्बा’को एउटै उदेश्य रहेको छ, अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोड्ने । त्यहि अनुरुप उनीले उत्कृष्ट प्रर्दशन समेत गरिरहेकी छिन् । सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा उनले उत्कृष्ट प्रर्दशन गरेकी थिइन् ।

त्यतिबेला उनले १२ गोल गरेकी थिइन् । ‘साम्बा’ले भुटानविरुद्ध डबल ह्याट्रिक समेत गरेकी थिइन् । साथै उनले माल्दिभ्सविरुद्ध ५ तथा भारतविरुद्ध एक गोल गरेकी थिइन् । 

के भन्छन् प्रशिक्षक खड्का ?    
राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले भारतलाई हराउने सपना पुरा भएको बताएका छन् । 

उनले भने, ‘हामीले भारतलाई उसैको मैदानमा हराउँने सपना पुरा भएको छ, खेलाडी हुँदा भारतलाई उसैको भुमिमा हराउने सपना थियो तर, त्यस समय नसकेपनि प्रशिक्षकको भुमिकामा रहँदा त्यो सपना पुरा भएको छ ।’

साथै प्रशिक्षक खड्काले अखिल नेपाल फुटबल संघ ‘एन्फा’ प्रति आभार प्रकट समेत गरे । 

‘मेरो सपना पुरा गरेकोमा मेरा ‘चेली’खेलाडीप्रति ह्दयदेखि आभारी छु, अबको हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो’, उनले भने । 

प्रशिक्षक खड्काको प्रशिक्षणमा नेपाली महिला टिम ओलम्पिक छनोटको दोस्रो चरणमा समेत प्रवेश गरिसकेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?