बेलकोटगढीको ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम

लोकपथ
511
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले ‘जहाँ व्यवसाय त्यहाँ दर्ता’ कार्यक्रम सञ्चालन गरेको छ ।

जसअनुसार नगरपालिकाले व्यवसाय दर्ताका लागि स्थानीय व्यवसायीहरुलाई प्रोत्साहन गरेको हो ।

नगरपालिकाले बजार अनुगमन, व्यवसाय सूचीकृत र व्यवसाय दर्ता कार्यक्रम सञ्चालन गरेको उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख शिव दाहालले जानकारी दिए ।

सोहीअनुसार सोमबार प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षलगायतको सहभागितामा रातमाटेमा अनुगमन गरिएको उनले बताए ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार सोमबारबाट उक्त कार्यक्रम कार्यान्वयनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको सुरुवातमा नगरपालिकाका कार्यबाहक नगरप्रमुख दाहाल र प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डित, शाखा अधिकृत शुक्रकुमार श्रेष्ठसहितको टोलीले सोमबार वडा नम्वर ७ मा रहेको महादेवफाँट बजार तथा मंगलबार वडा नम्वर ५ को कोल्पुटार, क्यौरिनी तथा वडा नम्वर ७ को रातमाटेमा रहेका व्यवसायीहरुलाई उनीहरुको व्यवसायको प्रकृति अनुसार दर्ता गरि प्रमाणपत्र समेत उपलब्ध गराएको छ ।

१३ वडा रहेको नगरपालिकाका अधिकाँश व्यवसायीहरु विविध कारणले दर्ता प्रकृयामा नआउँदा नगरपालिकाले अपेक्षित राजश्व समेत उठाउन नसकेकोले नीति तथा कार्यक्रममै समेटेर अभियानकै रुपमा यो कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

‘जहाँ व्यवसाय त्यहाँ दर्ता’, कार्यक्रमको प्रभावकारी कार्यान्वयन पछि सबै व्यवसायीहरु सूचिकृत भई मर्यादित व्यवसायको वातावरण समेत निर्माण हुने र कर प्रणालीमा सहभागिताका कारण नगरपालिकाको कार्य संचालनमा समेत सहजता हुने कार्यबाहक नगरप्रमुख दाहालले बताए ।

त्यस्तै नगरपालिकाको उक्त कदमलाई स्थानीय तथा व्यवसायीहरुले स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?