‘डीपीएल’ क्रिकेटमा काठमाडौं गोल्डेन्सको विजयी शुरुवात, धनगढी स्टार्स स्तब्ध

 

धनगढी । काठमाडौं गोल्डेन्सले जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । 

फाप्ला क्रिकेट मैदानमा सोमवार भएको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं गोल्डेन्सले डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

१ सय ३३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको काठमाडौंले १९ दशमलब ५ ओभरमा मात्र ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । काठमाडौंका लागि अंकित दबासले २९ रन, गौरब तमोरले २८ रन तथा अनिल कुमार साहले २४ रन जोडे ।

त्यस्तै बिक्रम कुमार भुसालले नटआउट १४ रन तथा महेबुब आलमले १२ रन जोडेका थिए । यता धनगढीका रोहन मुस्तफाले सर्वाधिक ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल तयार पारेको थियो । धनगढीका लागि अमित श्रेष्ठले अर्धशतकिय पारी खेले । उनले ५० बलमा ५० रन जोड्दै पेभेलियनमा फर्किए ।

त्यस्तै ओपनर ब्याट्सम्यान रोहन मुस्तफा र सुनील धमला ६ रन बनाउँदा आउट भए । अमितले तेस्रो विकेटका लागि सन्दीप रजाईलीसँग मिलेर ५२ रनको साझेदारी गरेका थिए । सन्दीपले २८ रन जोडेका थिए । 

सौरभ खनालले नटआउट २५ रन तथा पवन सर्राफले १९ रन जोडे । यता काठमाडौं गोल्डेनसका लागि नन्दन यादबले २ तथा ललित नारायण राजवंशी र अमित दबासले समान १-१ विकेट हात पारे ।

जितपछि काठमाडौंले महत्वपूर्ण २ अंक जोडेको छ । अब काठमाडौंले यहि बुधवार महेन्द्रनगर युनाइटेडको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोली ‘मंगलवार’ धनगढी स्टार्सले सिवाईसी अत्तरियाविरुद्ध भिड्ने छ । 

तस्वीर : विकेट नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?