मुख्यमन्त्री यादवको राजीनामा माग्दै जनकपुरधाममा इन्जिनियरहरुको प्रदर्शन

लोकपथ
221
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै इन्जिनियरहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री कार्यालय क्षेत्रमा प्रदर्शन निषेध गरिएको छ । तर निषेधित क्षेत्रमा पुगेर इन्जिनियरहरु प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच सामान्य झडपसमेत भएको छ ।

कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालिन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्ने लगायतका माग इन्जिनियरहरुले राखेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटक पटक माग पूरा गर्न ध्यानाकर्षण गराएको थियो । मधेश सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपर्ने इन्जिनियर सतिश यादवले बताए ।

मधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरका लागि अहिलेसम्म विज्ञापन गरेको छैन । विज्ञापन नगरेकाले इन्जिनियरले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारासमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?