छुवाछुत मानवता विरुद्धको अपराध भएको भन्दै १६ जिल्लामा गरियो प्रदर्शन

लोकपथ
42
Shares

काठमाडौं । देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ ।

छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै गत असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा सुर्खेत, चितवन, संखुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडाैं, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्कीमा गरी १६ जिल्लामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर, दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर, जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर, हाम्रो आन्दोलनः सामाजिक न्यायका लागि, दण्डहीनता अन्त्य गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन र कानूनी व्यवस्थाका बाबजुद छुवाछुत र जातीय भेदभाव जस्ता मानवता विरुद्धको अपराधका घटनाहरु बारम्बार घटिरहनुको कारण त्यस्ता घटनामा संलग्न दोषीहरुलाई राजनीतिक एवं सामाजिक संरक्षण प्राप्त हुनु र दण्डहीनता रहि आएको समाजको निष्कर्ष छ ।

“दलित अधिकार मानव अधिकार” भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियानरत मानव अधिकार तथा शान्ति समाजले दण्डहीनता विरुद्ध अभियान जारी राख्ने पनि प्रदर्शनपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?