व्यासका ८ सय २२ जना अपांगता व्यक्तिले पाए परिचय पत्र

लोकपथ
28
Shares

दमौली । तनहुँको व्यास नगरपालिकाले हाल सम्म ८ सय २२ जना अपांगता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरेको छ ।

नगरपालिकाको महिला बालबालिका अपांगता तथा ज्येष्ठ नागरिक उपशाखाले दिएको तथ्याङक अनुसार क वर्गका लाई रातो, ख वर्गका लाई निलो, ग वर्गका लाई पहेलों कार्ड र घ वर्गको अपांगता भएका व्यक्तिलाई सेतो परिचय पत्र प्रदान गरिएको छ । जसमा रातो कार्ड १ सय ३५ जनालाई, निलो कार्ड ३ सय ३६ जनालाई,पहेंलो कार्ड २ सय ३५ जनालाई र सेतो कार्ड १ सय १६ जनालाई वितरण गरिएको छ । सरकारबाट प्राप्त रकम नगरपालिकाले ‘क’ र ‘ख’ वर्गलाई मासिक क्रमशः रु चार हजार र ‘ख’ वर्गलाई रु दुई हजारका दरले उपलब्ध गराउँदै आएको छ ।

सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको भएपनि ‘ग’ वर्गलाई भने सुविधा प्रदान गरेको छैन । संघिय सरकारले रातो कार्ड भएका व्यक्तिलाई मासिक ४ हजार र निलो कार्ड भएकालाई २ हजार १ सय २८ रुपैया भत्ता प्रदान गदै आएको छ । नगरपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप पहेंलो कार्ड भएका व्यक्तिलाई वार्षिक ४ हजार भत्ता दिदै आएको उपप्रमुख इन्द्रिरा दरैले जानकारी दिईन् । उनले भनिन्, ‘सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ तर व्यास नगरपालिकाले पहेंलो कार्ड भएकालाई पनि रकम प्रदान गरेको छ ।’ उनले अघि भनिन्,“सामाजिक सुरक्षा भत्ता र पेन्सन पाउनेहरुलाई भने प्रोत्साहन रकम दिईने गरिएको छैन । ”

सेतो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहने हुँदा काम गरी खान सक्ने भएकाले भत्ता बितरण नगरिएको हो तर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले राज्यले प्रदान गर्ने स्वास्थ्य, शिक्षा र रोजगारीमा छुटको व्यवस्था हुन्छ भने लोकसेवामा लड्न पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?