भक्तपुरमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

लोकपथ
39
Shares
काठमाडौं । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा शान्तिसुरक्षा मजबुद बनाउने, नाकामा कडाइ गर्ने र कानुनविपरीतका अवैध गतिविधि रोक्ने उद्देश्यले भएको ‘अन्तरजिल्ला सुरक्षा समन्वय’ बैठक सम्पन्न भएको छ ।
भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाका तीन र काभ्रेपलाञ्चोकबीच जिल्लाका सुरक्षा निकाय एक भएर शान्ति, सुरक्षाका पक्षमा काम गर्ने निर्णय भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायत चारवटै जिल्ला सुरक्षा समितिका पदाधिकारीको संयुक्त बैठकले चारवटै जिल्लाका नाकामा कडाइ गर्ने निर्णय गरेको छ ।
बैठकबारे जानकारी दिँदै भक्तपुरका प्रजिअ रिजालले सबै जिल्लासँग सरोकार राख्ने विकास निर्माणका योजनामा शान्तिसुरक्षाको व्यवस्था गर्ने, गुणस्तर लगायतको दृष्टिकोणले आइपर्ने समस्या समाधान गर्ने, विपद्मा आइपर्ने समस्या समाधान गर्ने, अन्तरजिल्ला नाका हुँदै लागुऔषध ओसारपसार, वन्यजन्तु तथा वन पैदावार र  आखेटोपहार आदि चोरी निकासीलगायत आपराधिक एवं अवैध गतिविधि नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए ।
संयुक्त सुरक्षा समितिको बैठकमा सार्वजनिक यातायात सञ्चालन, भाडा दर, यात्रु क्षमता, तीव्रगतिलगायत समग्र सवारी व्यवस्थापनका क्षेत्रमा विद्यमान समस्या समाधान गर्ने, दैनिक उपभोग्य, खाद्य र अन्य सामग्री बेचबिखनका लागि अन्तरजिल्लामा सामग्री ढुवानी तथा ओसारपसार गर्दा म्याद गुज्रेका तथा अखाद्य वस्तु ढुवानी हुनसक्ने भएकाले त्यस्ता कार्यलाई रोक्न संयुक्तरुपमा समन्वय र पहल गर्ने उनले बताए ।
त्यस्तै, जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गरी नियमित बजार अनुगमन, नाकामा कडाइ गर्ने, वर्षायाम सुरु भइसकेका सन्दर्भमा नदीजन्य तथा खानीजन्य पदार्थको अवैध उत्खनन एवं दोहनलाई न्यूनीकरण गर्ने र चारवटै जिल्लामा हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको भ्रमणको अवधिमा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन जिल्लाका सुरक्षा निकायबीच समन्वय र सहयोग आदानप्रदान गर्नेलगायत निर्णय भएका भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?