मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना आइतबार पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुनसक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्धारसम्बन्धी प्रतिकार्यको योजना निर्माण गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयमा बसेको बैठकले बिभिन्न विषयगत क्षेत्रमा कार्य गर्ने गरी प्रदेश सरकारका विषयगत मन्त्रालय र गैरसरकारी सङ्घसंस्थाका लागि विषयगत क्षेत्र तय गरी ती मन्त्रालयको जिम्मेवारीसमेत तोकेको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्सँग सम्बन्धित पूर्वतयारीदेखि पुनरलाभसम्मका कामका लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई निर्देशन दिने छ । साथै आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायसँग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामग्री साथै राहत सामग्रीहरुको प्रवन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्ने जनाइएको छ ।

त्यस्तै प्रदेश विपद् कोष सञ्चालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नसक्ने आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

साथै सो कार्ययोजना मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयका लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरे।

बैठकमा मुख्यमन्त्री कार्यालयसहित सरोकारवाला मन्त्रालयका सचिवहरु, आन्तरिक मामिला मन्त्रालयका सचिव, नेपाल रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?