भेनेजुयला प्रकरण : प्रचण्ड फेरि बोले

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताए । 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बिहीवार प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । 

एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।” 

मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठक बसेर पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नलाग्ने उनले बताए ।

पार्टी र परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट पारिसकेको उनले उल्लेख गरे । आफूले विज्ञप्ति जारी गरिसकेपछि केही मिडियामा फसाइयो भनेर आएपछि पुनः स्पष्टसमेत पारिएको उनले बताए । 

अर्को एक सन्दर्भमा प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशबाहिर भएका बेला विभिन्न देशका राजदूतहरुले शान्ति प्रक्रियाका विषयमा जारी गरेको विज्ञप्तिलाई नेपालको मामिलामाथिको अनावश्यक चासोको अभिव्यक्ति भएको दाहालले टिप्पणी गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?