मुगु । २०७६ सालमा मुगम कार्मारोङ्ग गाउँपालिका-३ ताखामा स्थापित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय कर्णाली प्रदेशको एक मात्र आवासीय विद्यालय हो ।
कुनै बेला भौतिक संरचना अभाव हुँदा विद्यार्थीहरु यो विद्यालयमा एउटै कोठामा बस्न बाध्य थिए । तर पठ्न पाठ्न सुरु गर्दा ढुङ्गा र काठको टहराबाट सुरु भएको यस आवासीय विद्यालय पछिल्लो समयमा भौतिक पूर्वाधार निमार्ण हुँदै व्यवस्थित बन्न थाले पछि पढ्न आउने विद्यार्थीको निकै घुँईचो लागेको छ ।
संघीय सरकारबाट छाना, प्रदेश सरकारबाट नाना, स्थानीय सरकारबाट अन्य व्यवस्था गरी मुगुम कार्मारोङ्ग गाउँपालिका भित्र रहेका गरीब, दलित, असहाय विद्यार्थीलाई लक्षित गरी उनीहरुको शैक्षिक स्तरमा सुधार ल्याउन यस आवासीय विद्यालय सञ्चालन गरिएको हो । आवासीय बिद्यालयमा भौतिक पूर्वाधार, खेल मैदान, लाईबेरी, शौचालय, खानेपानी , विद्युत लगायत खाना,बास बस्न,लता कपडा समेत निशुल्क पाउने भएपछि हिजो आज विद्यार्थीको चाप निकै बढेको छ ।
मुगम कार्मारोङ्ग गाँउपालिकामा रहेका सामुदाय बिद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिसके पछि अन्य कक्षा पढ्नको लागि गाउँ बाहिर जानु पर्ने बाध्यता पनि यस्ले अन्त्य गरेको छ । कक्षा ५ सम्मको अध्ययन पछि पालिका छाडेर जिल्ला सदरमुकाम, अन्य जिल्लामा पढ्न जानु पर्ने हुँदा बिचैमा कक्षा छोड्ने विद्यार्थीहरुको संख्या बढी हुँदा यो अवस्थाको अन्त्यका लागि आवासीय विद्यालय २०७६ सालमा स्थापना गरिएको हो ।
विद्यालयको सुरुवाती दिनको बारोम प्रधानाध्यापक कुशलबहादुर शाहीले भने ‘ सुरुमा निकै दुःख कष्टकर जीवन वितायौं,ं ओडार,ठूला ढुङ्गाको आड ,काठका टहराबाट बास,गास,पठन पाठन गर्दै आएका थियौं, पछिल्लो समयमा संघीय सरकारदेखि स्थानीय सरकारको सहयोगमा विद्यालयका भौतिक पूर्वधार बन्दै गएपछि पठन पाठनमा गुणस्तरमा पनि सुधार आयो, कक्षा ४ बाट सुरु गरेको विद्यालय अहिले कक्षा ९ सम्म सञ्चालन गरिएको छ, विद्यालयमा हिजो आज छात्रा र छात्र गरी जम्मा ३ सय ४४ जना विद्यार्थी रहेका छन् । ’
यस्तै मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले विद्यालयले पछिल्लो समय ठूलो प्रगति गरेको बताए ।
उनले भने ‘ आ.व ०७५।०७६ बाट शुरु गरिएको यो आवासीय विद्यालय सञ्चालन गर्न निकै समस्या कठिनाई बाधा अवरोध हुँदा निकै चुनौती पार गर्न परेको थियो, अहिले पछिल्लो समयमा विद्यार्थीहरुको अनुपातमा भौतिक पूर्वाधार निमार्ण भएका छन ,छात्रा छात्रहरुको आवास,विद्यालय कोठा,भान्सा,गोदाम घर, शौचालय,खेल मौदान,निमार्ण हुुँदै गएपछि निकै सुधार भएको छ ,अन्तर विद्यालय अतिरिक्त क्रियाकलापमा पनि यो विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रस्तुति गर्ने गरेको पाईएको छ । ’
मुगम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरीङ्गक्याप्र्ने लामाले प्रदेश सरकारबाट प्रति विद्यार्थी प्रति महिना ४ हजारको दरले १० महिनाको खानाको ब्यावस्था गरेको जानकारी दिए । उनले संघीय सरकारले छाना अर्थात पूर्वाधार भवनको व्यवस्था गरेको छ । यस्तै स्थानीय सरकारले स्वास्थ्य सामग्री, लता कपडा, चौकीदार भान्से लगायत १० जना कर्मचारीहरुको व्यवस्था गरेको बताएको छन ।
कर्णालीको एक मात्र नमुनाको रुपमा सञ्चालन हुँदै आएको यो आवासीय विद्यालय पछिल्लो समयमा सरकारका तिनै तह र बिभिन्न संघ सस्थाले सहयोगका कारण विद्यार्थीको आकर्षणको केन्द्र बिन्दु बन्दै छ । थप सुधारको लागि सबै क्षेत्रको नजर जान आवश्यक देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया