कोशी प्रदेशमा उद्धव थापाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने, राप्रपाको पाएनन् समर्थन

लोकपथ
70
Shares

काठमाडौं। कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन दाबीसहित कोशी प्रदेशका गठबन्धन दल साढे ४ बजे प्रदेश प्रमुखकोमा जाने तयारीमा लागेका छन् ।

राप्रपाले साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई समेत माओवादीको सदस्य गनेर गठबन्धन दलले बहुमत जुटाएका हुन् ।

साढे ४ बजे सांसदहरूको हस्ताक्षर संकलनसहित प्रदेश प्रमुखकोमा जाने कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए ।

शुक्रबार विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा आज बिहीबार साँझ ५ बजे सकिँदै छ ।

कोशी प्रदेशको गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा एसका ४ र जसपाका १ गरी ४६ सीट छ । सभामुखलाई दलको सदस्य मानेर गठबन्धनले बहुमत पुर्‍याउन खोजेको हो । एमाले-राप्रपा गठबन्धनसँग पनि ४६ सांसद छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?