उपराष्ट्रपतिद्वारा बुढानिलकण्ठ धर्मशालाको उद्घाटन

लोकपथ
35
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुढानिलकण्ठ धर्मशाला (अतिथि गृह) को उद्घाटन गरेका छन् । बुढानिलकण्ठ नगरपालिका–३ मा निर्मित धर्मशालालाई यादवले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यद्वय गगनकुमार थापा, प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डित, बुढानिलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति रहेको थियो ।

भारत सरकारको करिब ५ करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको थियो । नेपालको साँस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।

२०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

नवनिर्मित यस साढे तीन तले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिनेछ । नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ ।

यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्दछ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनःर्निर्माणमा भारत सरकारले पुर्याएको सहयोगको प्रशंसा गरे ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?