आषाढ पूर्णिमाको अवसरमा भारतीय राजदूतावासद्वारा बौद्ध धर्मसम्बन्धि कार्यक्रम सम्पन्न

लोकपथ
49
Shares

काठमाडौं । ‘आषाढ पूर्णिमा’ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले बौद्ध धर्मसम्बन्धि एक कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा सोमबार दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा कार्यक्रम सम्पन्न गरेको हो ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ । सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताएका थिए ।
कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरेका थिए । साथै, चार बौद्ध सूत्रको प्रार्थना गरिएको थियो ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्वबारे प्रकास पारेका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताइन् ।

‘बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने छ,’ उनले भनिन् ।

सोही कार्यक्रममा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए ।

कार्यक्रममा लुम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गरेका थिए । उक्त अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्वका बौद्ध स्थलहरुको प्रदर्शनी पनि राखिएको थियो ।

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेद परिसंघ प्रतिनिधिको रुपमा उपस्थित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?