काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला आफ्नो लागि सधैँ प्रेरणाको स्रोत रहेको बताएका छन् ।
स्वर्गीय कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् ।
कोइरालाको सुझबुझपूर्ण राजनीतिक परिपक्कता र मृत्यु शैयाबाट आफूलाई देश सम्हाल्ने जिम्मेवारी दिएको कुरा सधैँ स्मरणमा रहने बताए । साथै शान्ति प्रक्रियादेखि संविधान निर्माण र त्यसको कार्यान्वयनका लागि आफूलाई कोइरालाको प्रेरणा दिइरहेको प्रधानमन्त्रीले बताए ।
‘गिरिजाप्रसाद कोइरालाको परिपक्व राजनीति, सुझबुझ, या दुर्दृष्टि । र, अस्पतालमा जतिवेला उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो मलाई एक्लै बोलाएर सम्हाल्नुस् देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति अगाध आस्था र विश्वास भइराख्यो, भइराख्छ’, प्रधानमन्त्रीले भने, ‘शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’
त्यस्तै आफूले कोइरालालाई राष्ट्रपतिको रुपमा प्रस्ताव नराख्दा पनि उनले कुनै वैरभाव नराखेको स्पष्ट पारे । साथै आफूले राष्ट्रपतिको लागि प्रस्ताव गर्न नसक्दा ठूलो पश्चाताप रहेको उनले बताए ।
‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो ।’ उनले भने ।
आफूले भनेका धेरै कुराहरु कोइरालाले पूरा गर्दा पनि आफूले कुनै कुरा पूरा गर्न नसकेको बताए ।
‘मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै मैले पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया