काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोमवार आयोगले काठमाडौंको भृकुटीमण्डपस्थित फनवार्क क्षेत्रको जग्गा भाडामा लगाउँदा आर्थिक अनियमितता गरेको अभियोगमा समाज कल्याण परिषद्का अध्यक्ष न्यौपानेसहित तत्कालिन १२ पदाधिकारी र २ जना मेला सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा अध्यक्ष न्यौपाने, परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्रकुमार यादव, सदस्यहरु मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र हरि न्यौपाने, भृकुटीमण्डप फनपार्क मेला सञ्चालक टेकबहादुर गुरुङ र प्रमुख सञ्चालक रविन्द्र गुरुङविरुद्ध विगो असल उपर हुने गरी जरिवाना तथा सजाय मागदाबी गर्दै मुद्दा दायर भएको हो ।
यस्तै, परिषद्का तत्कालिन कोषाध्यक्ष रत्न गाहामगर, निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वार, कानूनी सल्लाहकारहरु प्रोमसिंह धामी र जगदेव चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कारवाहीको माग दाबी गरिएको छ ।
फनपार्क मेला क्षेत्रमा रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत अनियमितता आरोप उनीहरुमाथि लगाइएको छ ।
परिषद्लाई हालसम्म ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ नोक्सानी पुर्याएको अख्तियारको दाबि छ ।
अख्तियारका अनुसार सार्वजनिक बोलपत्र आह्वान नगरी मिलेमतोको आधारमा न्यून दरमा जग्गा भाडामा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया