ल्होसार शुभकामना : सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन् । 

उनले सन्देशमा हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताए । 

यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षका रुपमा मनाइने ल्होछार पर्वले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताए । 

तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २०७५ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । 

मुख्यमन्त्री राईले नेपालका तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने सोनाम ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गरे ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्व आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रुपमा रहेको मुख्यमन्त्री राईले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?