अनिल केशरी भन्छन् : रास्वपाबाहेक अरु पार्टीमा जानै मन लागेन (भिडियाेसहित)

३१ वर्ष बैंकिङ क्षेत्रमा बिताएका अनिल केशरी शाह असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । चर्चित बैंकरको छबि बनाएका शाहलाई रास्वपाले प्रशिक्षण विभागको प्रमुखसमेत जिम्मेवारी दिएको छ ।

एक वर्ष अघि बैंकिङ क्षेत्रबाट अवकाश लिएका शाह युवापुस्तामाझ एक मोटिभेटरका रुपमा समेत चिनिन्छन् । रास्वपाले त्यही क्षमता पहिचान गरेर आफूलाई प्रशिक्षण विभागको जिम्मेवारी दिएको शाह बताउँछन् । ‘मैले १६ वर्ष विभिन्न बैंकको नेतृत्व गरेँ, जहाँ जहाँ रहेँ त्यहाँ सफल नै भएँ,’ लोकपथसँगको भिडियो कुराकानीका क्रममा शाह भन्छन्, ‘मैले बैंकिङ क्षेत्रमा सिकेको नेतृत्व कला अब राजनीतिमा देखाउँछु ।’

बैंकिङ क्षेत्रबाट रिटायर्ड भएपछि युवापुस्तामा नेतृत्व कला सिकाइरहेका शाहलाई थुप्रैले राजनीतिमा जान उत्प्रेरित गरे । ‘मैले विभिन्न सेसनमा नेपालका राजनीतिका बारेमा पनि कुरा गर्थेँ, यहाँको बेथिति विसंगति मेरो मूख्य विषय बन्थे,’ उनी सुनाउँछन्, ‘थुपैै्र युवापुस्ताले अब तपाईं पोखरीको डिलमा बसेर यो भएन त्यो भएन भन्ने होइन पोखरी भित्रै पसेर फोहोर गर्नुस् होइन भने राजनीतिका कुरा गर्न छोड्नुस् भनेपछि राजनीतिमा जाने जोश आयो ।’

यद्यपि, शाहको राजनीतिक यात्राका बारेमा यसअघि पनि चर्चा नभएको भने होइन । करिव ७ वर्ष अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दा उनी राजनीतिमा आउने चर्चा चलेको थियो ।

त्यस्तै, गत वर्ष नेकपा एमालेको घोषणापत्र कार्यक्रममा ओलीसँग लाइभ डिबेट कार्यक्रममा सहजकर्ताका रुपमा देखिएपछि उनी एमाले जाने चर्चा पनि चलेको थियो । तर, उनले अहिले आएर रास्वपा रोजेको छन् । आखिर के कारणले रोजे त रास्वपा ? उनलाई के कुराले आकर्षण गर्यो ? प्रस्तुत छ, यिनै विषयवस्तुमाथि केन्द्रीत रहेर लोकपथका प्रमुख संवाददाता महेश तिमल्सिनाले शाहसँग गरेको भिडियो कुराकानी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?