पुनःनिर्माणमा आर्थिक अभाव भए अर्को दाता सम्मेलन : भुसाल

काठमाडौँ, ८ कात्तिक ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राविधिक जनशक्तिको अभावमा पुनःनिर्माणले जनताको सोचअनुसार गति लिन नसकेको बताएका छन ।रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पुनःनिर्माणका लागि गाउँपालिका र नगरपालिकाले माग गरे अनुरुप प्राधिकरणले प्राविधिक खटाउने जानकारी दिए ।“प्राधिकरणले एकमुष्ट रुपमा एक हजार १०० प्राविधिक माग गर्दा छानिएकामध्ये ९०० भन्दा बढीले काठमाडौँमै बस्न पाउँ भनी निवेदन दिँदा ग्रामीण भेगको पुनःनिर्माणमा समस्या भएको छ”–उनले भने ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र सचिव अन्यत्र गए पनि काम हुनसक्ने गरी संस्थागत प्रणाली विकास गर्नेतर्फ कदम अघि बढाउने प्रतिबद्धता भुसालले जनाए । “पुनःनिर्माणका लागि थप सहयोग आवश्यक परे दाताको अर्को सम्मेलन पनि गराउँछु, आर्थिक स्रोतको अभावमा पुनःनिर्माणमा ढिलाइ भएको होइन, स्रोत छ तर विधिअनुसार स्रोत परिचालन गरेर पुनःनिर्माण हुनसकेन”–उनले भने ।यसअघि प्राधिकरणले सार्वजनिक गरेको ३५ वटा नमुनाका घर मात्र बनाउनुपर्ने व्यवस्था व्यावहारिक हुन नसक्ने भएकाले स्थानीय तहबाट नक्सापास गराएर घर बनाउन सकिने भुसालले बताए । सामूहिक जमानीको ऋण प्रवाहका लागि सहज व्यवस्था मिलाउनेतर्फ प्राधिकरणले ठोस् काम गर्ने तयारी गरेको छ । नाता सम्बन्धसँग जोडेर जिम्मेवारी पाएको भनी गरिएको प्रचार गलत भएको उनको भनाइ थियो ।“अध्ययनकालदेखि नै म प्रथम श्रेणीमा प्रथम भएको हुँ, म सचिव भएपछि मात्र मेरो नाता जोडिएको हो, नाता जोडिएपछिको प्रचारले मलाई घाटा भएको छ, राजनीतिक सम्बन्धले म प्रथम भएर सचिव बनेको होइन”–प्रमुख कार्यकारी अधिकृत भुसालले भने ।प्राधिकरणमा आफूले बाँकी अवधि काम गर्ने बताउनुहुँदै उनले प्रधानमन्त्रीलाई आफ्ना कारण काम गर्न अप्ठ्यारो भए सहज रुपमा छोडिदिने बताए । यसअघिका दुवै प्रमुख कार्यकारी अधिकृत सफल भएको अनुभव आफूले प्राधिकरणमा गएपछि गरेको उनको भनाइ थियो ।प्राधिकरणका प्रवक्ता यमलाल भुसालले सात लाख ६७ हजार घर पुनःनिर्माणका लागि चालु आवमा रु एक खर्ब ४९ अर्ब बजेटको व्यवस्था भएको जानकारी दिए । अहिलेसम्म ८७ हजार भूकम्पपीडितले दोस्रो किस्ता बुझेका छन् । वर्षा अगावै सबै पीडितलाई स्थायी घरमा बसाउने योजना रहेको छ ।भूकम्पबाट कम प्रभावित १७ जिल्लामध्ये लमजुङ र बागलुङमा कार्यालय स्थापना हुने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?