एक मत नपुग्दा ढल्यो एमाले नेतृत्वको कोशी प्रदेश सरकार

लोकपथ
221
Shares

काठमाडौं । कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वको सरकार ढलेको छ ।

आज मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त नगरेपछि कार्की नेतृत्वको सरकार ढलेको हो ।

आफूमाथि विश्वास छ भन्ने मुख्यमन्त्री कार्कीले गरेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । ९३ सदस्यीय रहेको कोशी प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ तर एक मत प्राप्त गर्न नसक्दा मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेको हो । आजको बैठकमा भने ८९ जना सांसदको मात्रै उपस्थिती रहेको थियो ।
उनलाई उनको दल नेकपा एमालेको ४० र राप्रपाको ६ गरी ४६ मत प्राप्त भएको थियो ।

एमाले कोशी प्रदेशको सबैभन्दा ठूलो दल हो । केन्द्रको समीकरण फेरिँदा पनि माओवादी र जसपाले साथ दिँदै अहिलेसम्म कार्की नेतृत्वको सरकार टिकेको थियो । तर केही दिनअघि माओवादी र जसपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकार संकटमा परेको थियो ।

कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कार्की नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार निर्माणका लागि प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?