गण्डकी प्रदेशसभा : बजेटमाथि मन्त्रालयगत छलफल जारी

लोकपथ
91
Shares
काठमाडौं । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोगलगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भयो ।
यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक–२०८० माथि मङ्गलबारदेखि छलफल शुरु भएको थियो । मङ्गलबारको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो ।
मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले बजेटबारे पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखिरहनुभएको छ । बुधबारको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हरिबहादुर चुमानले बजेट वितरणमुखी नभई परिणाममुखी रहेको बताए। उनले भौतिक, ऊर्जालगायत मन्त्रालयले टुक्रे योजना कटौती गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरे ।
प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले प्रदेश सरकारले जनमुखी बजेट ल्याएको धारणा राखे । उनले पोखराका तालमा हुने दुर्घटना न्यूनीकरणका लागि अस्थायी सुरक्षा पोष्ट स्थापना, कारागार सुधार र व्यवस्थापन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएकामा सन्तोष व्यक्त गरे । आन्तरिक आय वृद्धिका लागि आर्थिक मामिला मन्त्रालयले ल्याएको योजना कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।
प्रदेशसभा सदस्य रोशनबहादुर गाहा थापाले शक्ति र पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको आरोप लगाए । प्रदेशसभा सदस्य बिन्दु पौडेल, भक्तबहादुर कुँवरलगायतले छलफलमा भाग लिएका थिए ।
यही असार १ गते सार्वजनिक गरिएको आगामी आव २०८०/८१ को बजेटमाथिको छलफल सकिएपछि मन्त्रालयगत शीर्षकमा छलफल शुरु भएको हो । छलफलका क्रममा उठेका विषयमाथि सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । विनियोजन विधेयकसँगै आर्थिक विधेयकमा छलफल भएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?