‘समर लभ’ को त्यो कायर प्रेमी मै होः सुबिन भट्टराई

काठमाडौं । उपन्यास ‘समर लभ’ लेख्नुअघि सुबिन भट्टराई त्यति धेरै दर्शकमाझ परिचित थिएनन् । यो उपन्यासपछि सुबिन भट्टराईका पाठक फ्यान ह्वात्तै बढे । त्यतिबेलाको बेस्ट सेलर यो उपन्यास यतिबेला फेरि चर्चामा छ । कारण, सोही उपन्यासमाथि बन्ने फिल्म ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्म यतिबेला त्यही उपन्यासको कथाका कारण बढी चर्चामा छ । रिलिजको मुखमा रहेको यो फिल्म गीत तथा ट्रेलरका कारण पनि चर्चामा थियो । फिल्ममा अतीत र साया बनेका छन्, आशिष पिया र रेवती क्षेत्री ।

लेखक सुबिनले सामाजिक सञ्जालमा यो फिल्मबारे त्यति लेखेका हुँदैनन् । बरु उनी आफ्ना उपन्यासकै बारेमा बढी लेख्ने र बोल्ने गरिरहेका हुन्छन् । किनकि, उनका जति पनि फ्यान छन्, ती फ्यानहरु आफ्नो लेखन करिअरकै कारण कमाएको उनको ठम्याइ छ । ‘फ्यानहरुले उपन्यासलाई मन पराउनुहुन्छ नि, अहिले बजारमा जति पनि फिल्मको चर्चा छ, त्यो चर्चा उपन्यासकै कारणले दिएको हो झैँ लाग्छ ।’, सुबिनले सुनाए ।

हुन त फिल्मले कति चर्चा कमाएको छ भन्नेमा सुबिन स्वयम् पनि त्यति जानकार छैनन् । फिल्मको हाइप कत्तिको बनिरहेको छ, दर्शकलाई फिल्मबारे थाहा छ कि छैन भनेर उनले निर्देशक ढकाल तथा फिल्मका अन्य कलाकारलाई सोधिरहेका हुन्छन् । अहिले भने सुबिन आफ्नो ‘बेस्ट सेलर’ उपन्यासमाथि बनेको यो फिल्मलाई दर्शकले कस्तो प्रतिक्रिया देलान् भन्नेमा सचेत देखिन्छन् ।

‘एउटा राम्रो उपन्यास पनि नराम्रो निर्देशकको हातमा प–यो भने फिल्म राम्रो बन्न सक्दैन, विश्वबजारलाई हेर्दा पनि यस्तो देखिन्छ’, उनी भन्छन्, ‘नेपालमा पुस्तकमाथि बनेका फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेनन्, तर यो उपन्यासले त्यो रेकर्ड राख्छ भन्ने लाग्छ ।’

उपन्यासले युवा पाठकको मन जितेको थियो । यतिसम्म कि, पाठकले उपन्यासमा मुख्य पात्र अतीत र साया कस्ता छन्, कस्तो व्यवहार गर्छन् लगायतका स–साना कुराको पनि पनि भेउ पाउँछन् । ती वर्णन गरिएका पात्रलाई फिल्ममा नपाउँदा सुबिनलाई समेत यतिबेला प्रश्नको ओइरो लाग्ने गर्छ – के तपाईंले वर्णन गरेजस्ता पात्र फिल्ममा पाउनभएको छ?

‘अहँ !’, सुबिनले सुनाए, ‘हुन त मैले उपन्यास लेख्दा फरक पात्रका फरक विशेषतालाई लिएर एउटा सिंगो पात्र बनाएको थिएँ, वास्तविकतामा ठ्याक्कै त्यस्तो पात्र पाउन मुस्किल नै थियो होला तर केही पात्र चयन चित्त बुझेको होइन ।’

निर्माण हुन मात्र तीन वर्ष लागेको यो फिल्मले पात्र चयनका लागि मात्र सोह्र महिना लगाएको थियो । यतिसम्म कि, भनेजस्तो पात्र नभेटिने भएपछि फिल्म नै नबन्ने अवस्थासमेत आएको थियो ।उपन्यासका पात्रअनुसार रियल पात्र भेट्न गाह्रो थियो ।

‘निर्देशकले केही कलाकारलाई भेट्नुभएको थियो, तर उहाँहरु आफ्नो भूमिकालाई लिएर तयार हुनुभएन ।’, उनले सुनाए ।

जतिबेला ‘समर लभ’ लाई उपन्यासको रुप दिएका थिए, त्यो बेला फिल्मको बारेमा सोचेका थिएनन् । फिल्मकर्मीसँग उनको खासै चिनजान पनि थिएन । उनले सुनाए, ‘यो उपन्यासको त्यो कायर प्रेमी म आफै हुँ, पात्रको अरु खुबी मैले अन्य प्रेमीबाट टिपेको हुँ ।’

पुस्तक पढिराख्ने हरेक पाठकले अतीत र सायाको आकृति फरक किसिमको बनाउन सक्ने पनि उनले बताए । किनकि, अतीत र सायाको वर्णन गरिएको छ । चित्र छैन ।
सुबिनले उक्त उपन्यासमा पाँच युवतीको विशेषतालाई लिएर एउटा पात्र बनाएको फेरि दोहो–याए । फिल्ममा साया पात्र केही बोल्ड छिन् । जसले गर्दा चल्तीका नायिकाहरुले सायाको भूमिका निभाउन गरिएको अफर रिजेक्ट गरेका थिए ।

उनले सुनाए, ‘केही कलाकारलाई भेट्न त म पनि पुगेको छु । जतिबेला हामीले फिट कलाकारको खोजी गरेका थियौँ, त्यो बेला पाएनौँ । अहिले कतिपयले फिल्ममा अतीत र सायाको भूमिकामा अभिनय गर्ने रुचि देखाउनुहुन्छ ।’

अहिले भने सुबिन पुस्तकभन्दा बढी फिल्म नै हेर्न थालेको बताए । कुनै समयमा आफूले कुनै न कुनै फिल्म बनाएरै छोड्छु भन्ने सोच आइरहेको उनले बताए । ‘यो उपन्यासमा फिल्म बन्ने भएदेखि फिल्मप्रति पनि मेरो रुचि बढेको छ, अहिले त मलाई कुनै समय फिल्ममा काम गर्छु कि भन्ने लाग्न थालेको छ ।’, उनले सुनाए ।

फिल्मका बारेमा उनले थपे, ‘निर्देशकले राम्रो फिल्म बनेको छ भन्नुहुन्छ, मैले फिल्म कस्तो छ भनेर अहिले नै भन्न चाहिँ मिल्दैन, फिल्म हेरेको छैन, ट्रेलर र गीतको आधारमा मात्र तुलना गर्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?