काठमाडौं । लैङ्गिक हिंसा पीडित र प्रभावितका लागि महिला आश्रयसम्बन्धी पहिलो तीनदिने राष्ट्रिय सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रयगृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको थियो । घोषणा पत्रमा महिला आश्रयगृहको समान कार्य, लक्ष्य र विचार सुनिश्चित गरी एक साझा मञ्चका रुपमा सशक्त राष्ट्रिय सञ्जाल विस्तार गर्न प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसैगरी महिलाको सुरक्षा र आधारभूत मौलिक अधिकारको संरक्षणमा राज्यको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरामा विश्वास राख्दै सम्मेलनले त्यसका लागि राज्यलाई महिलाको सुरक्षा, आश्रयगृहको विकास र प्रवर्द्धनमा विशेष महत्व दिन र आवश्यकताअनुसार आश्रयगृहको सेवा र गुणस्तर वृद्धि गर्न आग्रह गरिएको छ ।
लैङ्गिक हिंसा पीडित/प्रभावित महिलाको लागि आवश्यक एकीकृत सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित आश्रयगृहको सेवा र पहुँचलाई वृद्धि गर्ने नीतिगत, कानुनी, संस्थागत, वित्तिय र कार्यक्रमगत व्यवस्था गर्ने सङ्कल्पमा सरोकारवाला सबैलाई सर्मथन र सहयोग गर्न अपिल गरिएको छ ।
घोषणापत्रमा सबै सरोकारवालाको सहकार्य, स्रोत साधनमा पहुँच तथा दिगोपनाका लागि स्थानीयकरण गर्न सरकारका सबै तह, विकास साझेदार, नागरिक समाज र सङ्घ संस्थाको प्रतिबद्धता र ऐक्यबद्धताका लागि आग्रह गरिएको छ ।
यसैगरी घोषणापत्रमा महिला आश्रयगृहले रोजगारी, स्वास्थ्य सेवा, कानुनी सहायता, उद्यमशीलता प्रोत्साहन, रोजगारी र अन्य आवश्यकीय योजनाको कार्यान्वयन गर्न विशेषतः समृद्धि योजना निर्माण गरी सरकारको विभिन्न नीति, योजना, संरचना, सुविधा र सहयोगमा समेट्न माग गरिएको छ ।
सम्मेलनले लैङ्गिक हिंसा पीडितरप्रभावित घर परिवारमा पुनःस्थापित हुन नसक्ने अवस्थामा उनीहरुको सीपसहित क्षमता विकास गर्ने दीर्घकालीन प्रयोजनका लागि प्रदेशस्तरीय आधुनिक, प्रविधिमैत्री र सुविधा सम्पन्न बहुउद्देशीय क्षमता भएको तालिम केन्द्र र दीर्घकालीन पुनःस्थापना गृह र प्रत्येक जिल्लामा अल्पकालीन आवासगृहको माग गरेको छ ।
घोषणापत्रमा महिला मात्र उल्लेख भए पनि यसले किशोरी, बालिका तथा आश्रित बालबालिकासमेत समेट्ने उल्लेख छ । कार्यक्रममा आश्रयगृहसँग सम्बन्धित महत्वपूर्ण विषयका छ समानान्तर विषयगत सत्र र तीन पूर्ण सत्र सञ्चालन भएको थियो ।
यसमा आश्रयगृह सञ्चालनसम्बन्धी मापदण्ड, नवीनतम मुद्दा, प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणालगायत छन् । सम्मेलनमा तीन तहका सरकारका विभिन्न प्रतिनिधि, आश्रयगृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडितरप्रभावित, मनोसामाजिक परामर्शकर्ता, पत्रकार महिला, महिला अधिकारकर्मीलगायत दुई सय बढीको सहभागीे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया