परम्परागत बाली छाडेर ओखर खेती

लोकपथ
0
Shares

बलेवा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती शुरु गरेका छन् ।

जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताए । उनले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनत मात्रै खेर गएको बताए । स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गरेका थिए । उनहरुले केही बारीमा आलु  लगाएका थिए भने धेरै बारी बाँझो बन्न थालेको थियो । गाउँबाट सहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उनीहरुको भनाइ थियो ।

“दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो”, प्रेमबहादुरले भने, “मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ । व्यावसायिक रुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।” उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाएका हुन् ।

यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाईले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि  १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले  १० लाख अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताए । उनका अनुसार बिरुवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाइ र सिञ्चाइलगायत कामका लागि तीन भाइले  सात लाख खर्च गरेका छन् ।

परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ । “परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ”, उनले भने, “सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ ।” थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उनले बताए ।

जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारी समेत हरियाली भइसकेको छ । ओखरका बिरुवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द शर्माले बताए । “कलमी बिरुवा भएकाले यो वर्ष पनि एक/दुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ”, उनले भने, “तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ ।” छन्त्याल समूहमा आबद्ध धेरै किसान छन् ।

उनीहरुमध्ये तीन जनाले ओखर खेती सुरु गरेका राखिएको शर्माले जानकारी दिएका छन् । “अरु किसानमध्ये केहीले बाख्रा पालनमा र केहीले आलु खेतीमा अनुदान पाएका छन्”, उनले भने । उनका अनुसार बाख्रामा परियोजनाले सहयोग गरेको छ भने आलुमा नगरपालिकाले लगानी गरेको हो । आलु खेतीका लागि नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिनुका साथै किसानको बीउ, बजारीकरण लगायत काममा नगरपालिकाबाट प्राविधिक सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।

हाल लगाएको ओखरका एक हजार दुई सय बिरुवामध्ये एक/दुई वटा मात्र मरेको, सबै सरेर हरियाली बनिसकेकाले अरु बिरुवा पनि थप्ने योजना रहेको खिमबहादुर छन्त्यालले बताए। नौला गाउँको माथिल्लो बस्तीको जमिन ओखर खेतीका लागि उपयुक्त रहेको कृषि प्राविधिकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?