काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बजारबाट एकैपटक २० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले अहिले बैंकहरुमा बढ्दो लगानीयोग्य रकमको माग नभएपछि सो रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकले एक बैंकबाट अर्को बैंकको व्याजदर (इन्टर बैंक व्याजदर) ३ प्रतिशत भन्दा कम राख्न नदिने नितीअनुसार बजारबाट सो रकम उठाउन लागेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले बताए । बैंकहरुमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले यसरी रकम खिचेर राख्ने गरेको खालिङले बताए ।
त्यसैगरी राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुँदा पनि त्यसैगरी पैसा बजारमा पठाउने गर्छ । राष्ट्र बैंकको असार ७ गतेको विवरण अनुसार हाल बैंक तथा वित्तिय संस्थामा कुल ५५ खर्ब ७१ अर्ब निक्षेप रहेको छ । यस मध्ये सबैभन्दा बढी वाणिज्य बैंकहरुमा ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने विकास बैंक र फाईनान्स कम्पनीहरुमा ६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
अहिले बैंक तथा वित्तिय संस्थाको कुल कर्जा रकम ४८ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र कर्जा रकम ४२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ, भने विकास बैंक र फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम ५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ ।
पछिल्लो समय बजारमा आर्थिक संकट गहिरिँदै गएपछि कर्जाको डिमाण्ड घटेपछि राष्ट्र बैंकले बजारबाट सो रकम खिच्न लागेको हो । हाल बैंक तथा वित्तिय संस्थाहरुको कर्जा निक्षेप अनुपात अर्थात सिडी रेसियो भने ८३ दशमलव ८६ प्रतिशत रहेको छ । नेपालमा अहिले लघुवित्त वित्तीय संस्था बाहेक २१ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनीहरु सहितका ५५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।
विगतमा तरलताको अभावको समस्या झेलेका बैंक तथा फाईनान्स कम्पनीहरु अहिले भने अधिक तरलताको समस्याबाट गुज्रिएका छन् । बैंकिङ क्षेत्रका देखिएको यो अधिक तरलतालाई नियन्त्रणमा राष्ट्र बैंकले रिर्भस रिपो जारी गरेको छ । पहिलो पटक यही असार ७ गते सात दिने अवधिको १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेर बजारबाट रकम खिचेको राष्ट्र बैंकले असार १० गते अर्थात् आज आईतबार पुनः सात दिने अवधिको २० अर्ब रुपैयाँ बराबरको रकम बजारबाट खिचेको छ ।
रिर्भस रिपोको लागि आज अपरान्ह तीन बजेसम्म बैंक तथा वित्तिय संस्थाहरुले बोलकबोल पेस गर्नुपर्ने समय तोकिएको थियो । रिपोको परिपक्व हुने अवधि सात दिन अर्थात यही असार १७ गते तोकिएको छ ।
के हो रिपो ?
रिपर्चेजिङ अप्सन अर्थात् रिपो वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएमा त्यस्तो अभावलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले वित्तीय प्रणालीमा लगानीयोग्य रकम पठाउने मौद्रिक उपकरण हो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्न रिपो जारी गर्ने गर्दछ ।
तर बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ । आज जारी भएको रिर्भस रिपो भने सोही प्रकृतिको मौद्रिक उपकरण हो ।
भिडियाे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया