बैतडी। निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ ।
उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो । यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन्। उनले भने, “पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन ।” पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
वर्षाले किसान खुसी, रोपाइँ शुरु
लामो समयपछि वर्षा शुुरु भएसँगै बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।
रोपाइँका लागि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान प्रेमसिंह धामीले बताउनुभयो । यसअघि असार पहिलो सातासम्म पनि रोपाइँका लागि वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए । उनले भने, “वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत भएको छ । रोपाइँ पनि शुरु भएको छ ।”
यसअघि वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका बर्खेबाली सुक्ने अवस्थामा पुगेका र वर्षाले राहत भएको मेलौली नगरपालिका–२ सलेनाकी हसांदेवी चन्दले बताए । उनले भने, “वर्षा नहुँदा सुक्न लागेका बालीनालीलाई पनि राहत भयो, रोपाइँ गर्न पनि सहज भएको छ ।”
वर्षा भएसँगै यहाँका किसानलाई रोपाइँ गर्न चटारो परेको छ । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ अन्तिमतिर पुगेको र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ । जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । बैतडीमा जेठको अन्तिम सातादेखि नै रोपाइँ गर्न सुरु गरिएकामा असार मसान्तसम्म समाप्त हुने किसानले बताएका छन् ।
जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा वर्षापछि हाल भइरहेको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरा धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया