१६ औँ योजनाका लागि विज्ञको सुझाव : संघीय होइन राष्ट्रिय योजना बन्नुपर्छ

लोकपथ
0
Shares

काठमाडौं । १६ औँ योजनाको अवधारणपत्र तयारीका लागि राष्ट्रिय योजना आयोगले विषय विज्ञहरुसँगको छलफललाई बिहीबार पनि जारी राखेको छ ।

बुधबारदेखि शुरु भएको छलफलमा योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य, अर्थविद्हरु, नेपाल सरकारका बहालवाला तथा पूर्व सचिव तथा विभिन्न विषयका विज्ञहरु सहभागी छन् । बिहीबार भएको छलफलमा सहभागी विज्ञहरुले राष्ट्रिय योजना आयोगले बनाउने १६ औँ योजना संघीय नभइ राष्ट्रिय योजना हुनुपर्नेमा जोड दिएका छन् । अर्थात १६ औँ योजनाले प्रदेश र पालिकाको जिम्बेवारी र उपस्थितिलाई समेत विचार गरेर योजना तर्जुमा गनुपर्ने विज्ञहरुको सुझाव छ । प्रदेश र पालिकाका योजनाहरुलाई डोर्याउन सक्ने गरी प्लानिङ गर्नसके संघीय होइन राष्ट्रिय योजना बन्ने विज्ञहरुको तर्क छ ।

आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठका अनुसार विषय विज्ञहरुले दिएको सुझावलाई समेत आधारमानी १६ औँ योजनाको अवधारणापत्र तयार हुनेछ । उनका अनुसार साउन पहिलो साताभित्रै यसलाई अन्तिम रुप दिने गरी काम भइरहेको छ । २०८१ साउनबाट कार्यान्वयनमा जाने १६ औँ योजना आगामी माघ महिनाभित्रै अन्तिम रुप दिएर प्रकाशन गर्ने आयोगको तयारी छ ।

बिहीबारको छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव एक नारायण अर्याल, श्रम तथा रोजगार मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुरेश अधिकारी, पूर्व महान्यायाधिकवक्ता रमेश बडाल, आयोगका पूर्व सदस्यहरु डा. चन्द्रमणि अधिकारी, डा. गणेश गुरुङस हभागी थिए ।

यसैगरी अर्थमन्त्रालका पूर्व आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, पूर्व सचिवहरु पुरुषोत्तम ओझा, यमकुमारी खतिवडा, केदारबहादुर अधिकारी, पूर्णचन्द्र भट्टराई, गोपीनाथ मैनाली विषय विज्ञह डा. विश्वास गौचन, चन्द्र ढकाल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?