म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ ।
जिल्लास्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका एक सय २० घरधुरी लाभान्वित भएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले मिटर जडित निजी धारामार्फत सबै उपभोक्ताको घरघरमा खानेपानी वितरण गरिएको बताए । ओखलेपानी, खरिपानी र तुसारेपानीको मुहानबाट ल्याइएको पानी ७५ हजार लिटर, बीस हजार लिटर र १६ हजार लिटर क्षमताको तीन वटा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी पाइपलाइनमार्फत घरघरमा रहेका धारामा आपूर्ति गरिएको उनले जानकारी दिएका छन् ।
अध्यक्ष कार्कीका अनुसार साविक पिप्ले गाविस–४ मा पर्ने रानीपौवा, बस्नेगौडा, घारराखर्क, खरिपानी टोलमा ‘एक घर, एक धारा’ योजनाअन्तर्गत धारा निर्माण गरी पानी वितरण गरिएको हो । सुमन पौडेलले खानेपानी आयोजना निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको बताए । “सार्वजनिक धाराबाट वितरण हुँदै आउको पुरानो आयोजनाबाट पर्याप्त पानी आपूर्ति नहुने समस्याले सास्ती भएको थियो,” उनले भने “घरकै धारामा पानी आउन थालेपछि समयको बचत, सरसफाइमा सहयोग र दैनिकिमा सुधार भएको छ ।”
विसं २०७४ मा सुरु भएको उक्त आयोजना सङ्घ र प्रदेश सरकारका निकायमध्ये कसले कार्यान्वयन गर्ने भन्ने विवादले गत वर्षसम्म अलपत्र परेको थियो । कूल एक करोड ३६ लाख लागत अनुमान गरिएको आयोजनाका लागि विसं २०७७ सम्म वार्षिक रू दुई देखि तीन लाखका दरले बजेट विनियोजन भए पनि निर्माण सम्पन्न हुन सकेको थिएन् ।
चालु आर्थिक वर्षमा रानीपौवा खानेपानी आयोजनाका लागि ३० लाख बजेट विनियोजन भएको थियो । खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मुख्य र शाखा पाइपलाइन खरिद, ढुवानी, इन्टेक, ट्याङ्की निर्माण, मुख्य पाइपलाइन खन्ने र गाड्ने काम गरेको समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार उपभोक्ताले शाखा लाइन खन्ने, पुर्ने र धारा जडान गरेका हुन् । “पानी वितरणलाई व्यवस्थित बनाउन सबै उपभोक्ताको धारामा मिटर जडान गरी महसुल सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया