सुदरपश्चिम प्रदेशमा कृषि कर्जा बढेर १५ अर्ब नाघ्यो

लोकपथ
0
Shares

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा कृषि कर्जा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी सुदुर पश्चिम प्रदेशको अर्धबार्षिक प्रतिवेदन अनुसार २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा २० दशमलव ८३ प्रतिशतले बढेर १५ अर्ब ५५ करोड ४९ लाख पुगेको हो ।

राष्ट्र बैंकका अनुुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा २३ दशमलव ३८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी तीन अर्ब ६७ करोड १३ लाख कर्जा अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाह भएको छ भने सबैभन्दा कम पाँच लाख सनपाटमा प्रवाह भएको छ । समीक्षा अवधिमा कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ११ दशमलव ९४ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६४ दशमलव चार प्रतिशत, कञ्चनपुरको १९ दशमलव ७७ प्रतिशत, डडेल्धुरा, अछाम, डोटी, दार्चुला, बैतडी, बझाङ, तथा बाजुराको अंश क्रमशः तीन दशमलव ८६ प्रतिशत, दुई दशमलव ९२ प्रतिशत, दुई दशमलव ४२ प्रतिशत, एक दशमलव ९९ प्रतिशत, एक दशमलव ९८ प्रतिशत, एक दशमलव ७९ प्रतिशत र शुन्य दशमलव ८७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०७९ असार मसान्तको तुलनामा १३ दशमलव ६५ प्रतिशतले वृद्धि भई १० अर्ब ४२ करोड ८ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा दुई दशमलव २६ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?