चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

लोकपथ
28
Shares

काठमाडौं । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोषको समस्या देखिएको छ ।

अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ बर्षसम्मका बिद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण पश्चात समस्या देखिएका बालबालिकाहरुलाई निशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यबस्थापक रन्जन शाहले बताए ।

उक्त परियोजना मार्फत ४ बर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको शाहले बताए ।

शाहका अनुसार आँखा जाँच गरि वितरण गरिएको चस्मा मध्य ६३ प्रतिशत बालबालिकाहरुले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथिहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विवाह गर्न कठिनाई हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने ।

नेपाल नेत्रज्योति संघ आर।एम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेचि आँखा अस्पताल मार्फत यी जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको कार्यकारी निर्देशक डा।शैलेस कुमार मिश्रले बताए ।

परियोजनाले कार्यक्रम संचालित जिल्लाका महिला स्वास्थ्य स्वयसेविका, शिक्षक तथा बिद्यायलका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभुत तालिम समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?