लघु जलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

लोकपथ
0
Shares
फाइल तस्बिर

ताप्लेजुङ ।  ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ ।

गत शुक्रबार, शनिबार र आइतबार वर्षाका कारण आएको बाढीपहिरोले लघु जलविद्युत् गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकारमा बस्न बाध्य भएका छन् ।

मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको छ । बाढीले मैवाखोला गाउँपालिका–३ र ४ मा रहेका लघु जलविद्युत् आयोजनाका केहीको विद्युत् गृहनै बगाएको छ भने केहीको पानी ट्याङ्की र केहीको पूरै संरचना बगाएर लगेको छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमका अनुसार मैवाखोला गाउँपालिकामा ६० प्रतिशत घरपरिवारमा विद्युत् जडान भएको थियो ।

तर बाढीपहिरोले पाँच वटा लघु जलविद्युत् गृह नै बाढीले बगाएपछि गाउँपालिकामा बसोबास गर्ने समुदाय अन्धकारमा बस्न बाध्य भएका छन् । गाउँपालिकाको वडा नं ४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ । त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेको छ । बत्तीस र ६४ किलोवाटको माङमाया १ र मङमाया २ माइक्रो हाइड्रोमा पनि पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष बनेमले बताए ।

त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत् आयोजना पूर्ण रूपमा बगाएको अध्यक्ष बनेमले बताए । अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन् । दिउँसो घाम लाग्दा मात्र मोबाइलमा नेटवर्क आउने बेलुका भएपछि नेटर्वसमेत नआउँदा सञ्चारमा समेत समस्या भएको अध्यक्ष बनेमले बताए। उनले भने, “गाउँपालिकामा सञ्चलनमा रहेको पाँच वटा लघु जलविद्युत् पहिरोले बगाएपछि अहिले गाउँपालिका अन्धकार भएको छ । कार्यालयमा विद्युत् नभएकाले सेवा प्रवाह गर्न समेत कठिन भएको छ ।”

त्यस्तै सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा दुईवटा लघु जलविद्युत् बाढीले बगाएको छ । तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको विद्युत् गृह बाढीले पूरै बगाएको सिरिजङ्घा–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए ।

गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको लघुविद्युत् गृहमा समेत क्षति गरेकाले अहिले गाउँनै पूरै अन्धकार भएको छ । सिरिजङ्गा–८ गाउँलाई याम्फुदीन भनेर चिनिन्छ । यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् ।

दुई विद्युत् गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुईवटा विद्युत् गृहनै बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार विनोद उरावले बताए। विद्युत् गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्न समेत समस्या भएको स्थानीयवासीको भनाइ छ ।

विद्युत् गृह बाढीले बगाएपछि याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुगेको वडाध्यक्ष गुरुङले बताए । मोबाइल सेवासमेत अवरुद्ध हुँदै आएको गुरुङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?