वीरगञ्ज । मधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मी पटेलले मधेस प्रदेशमा बोलिने भाषामा बुलेटिन प्रकाशन गर्नका लागि राष्ट्रिय समाचार समितिलाई प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
राससको सहकार्य र आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामको आयोजनामा आजदेखि पर्साको वीरगञ्जमा शुरु भएको दुई दिने अभिमुखीकरणमा मन्त्री पटेलले मधेस प्रदेशमा बोलिने मैथिली र भोजपुरी लगायतका भाषामा बुलेटिन प्रकाशन गर्न सरकारले आवश्यक बजेट उपलब्ध गराउने बताए ।
भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पटेलले राज्य र जनतालाई जोड्न राससले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए । जनताका विषय र समस्यालाई राससले प्राथमिकता दिनुपर्नेमा जोड दिदै उनले सरकारी सञ्चारमाध्यमका रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु जरुरी रहेको बताए।
सो अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई अन्तर्राष्ट्रिय स्तरको समाचार एजेन्सी बनाउने र डिजिटल प्रविधिमा लैजाने योजनाका साथ काम भइरहेको जानकारी दिएका छन् । लोकतन्त्र बलियो बनाउन सञ्चारमाध्यम सवल हुनुपर्ने भन्दै उनले तीन वटै तहका सरकारको सहयोग आवश्यक भएको बताए। अध्यक्ष झाले निकट भविष्यमै राससले २४सै घण्टा सेवा प्रवाह गर्ने समेत जानकारी दिएका छन् ।
कार्यक्रममा मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्रालयका सचिव उमेशकुमार ढकालले समाचारहरु आधिकारिक हुने बताएका छन् । पत्रकारिताको विकासमा मधेस प्रदेश सरकार गम्भीर रहेको बताउदै उनले अगामी दिनमा पनि राससलगायतका सञ्चार संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घका पूर्वमहासचिव गोविन्द देवकोटाले राससले समावेशी ढङ्गले सामग्री दिनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेले राससलाई शुल्क घटाउँदै ग्राहक सङ्ख्या बढाउन सुझाव दिएका छन् । मधेस प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले राससको महत्व र आवश्यकताबारे चर्चा गर्दै धेरैभन्दा धेरै भाषामा सामग्री पस्किनुपर्नेमा जोड दिएका छन्।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुखका प्रेस सल्लाहकार महेश दासले पत्रकारहरुको क्षमता अभिबृद्धिमा लगानी भइरहको भन्दै महानगरले आगामी आर्थिक वर्षमा राससका लागि बजेट बिनियोजन गर्ने समेत जानकारी दिएका छन् ।
सो अवसरमा राससमा कार्यरत समाचारदाता सत्यप्रसाद श्रेष्ठ, कार्यालय सहयोगी सूर्यप्रसाद बराल, पूर्वकर्मचारीहरु ईश्वरचन्द्र गौतम, हिमांशु चौधरी, प्रभाषचन्द्र झा र वीरेन्द्र कर्णलाई सम्मान गरिएको छ ।
अभिमुखीकरण शुरु
राससका सञ्चारकर्मीहरुलाई लक्षित गरी दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि पर्साको वीरगञ्जमा शुरु भएको छ । राससको सहकार्यमा आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका आठ जिल्लाका ३० समाचारदाता तथा कर्मचारीको सहभागिता छ ।
कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक एकराज पाठक, मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरी, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव लगायतले सहजीकरण गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया