राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखियो, यस्तो छ स्वास्थ्यवस्था

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुको चाल कम हुँदै गएपछि मंगलबार पेसमेकर राखिएको उपचारमा संलग्न एक चिकित्सकले लोकपथलाई जानकारी दिए ।

राष्ट्रपति पौडेलको शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पौडेलको मुटुको चालमा समस्या देखिएपछि चिकित्सकले झण्डै ७२ घण्टा मुटुको चालको मनिटरिङ गरेका थिए । तर, निरन्तर मुटुको चालमा कमी हुँदै गएपछि पेसमेकर राखिएको चिकित्सले जानकारी दिए ।

यतिबेला राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यद्यपि, राष्ट्रपति पौडेल अझै केही दिन अस्पतालमै रहने उनले बताए ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका थिए । त्यहाँ एन्जियोग्राम गरेपछि बुधबार उनलाई डिस्चार्ज गरिएको थियो ।

यसैगरी, एक महिनाअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल भारतमा उपचार गरी फर्किएका थिए ।

के हो पेसमेकर ?

मुटुको चाल अचानक कम भएर शरीरलाई चाहिने आवश्यक रक्तसञ्चार नपुगेका बेला पेसमेकर भन्ने यन्त्रको मद्धतले मुटुमा संवेदना पुर्याएर मुटुको धड्कनलाई सामान्य बनाउन सकिन्छ । यो मुटु रोगका बिरामीको ज्यान जोगाउने उपचारको रुपमा गनिन्छ । अस्थाई र स्थायी गरी पेसमेकर दुई प्रकारका हुन्छन् । भने, स्थायी पेसमेकर पनि दुई प्रकारका हुन्छन् । जो सिंगल च्याम्बर र डुअल च्याम्बर हुन् । सिंगल च्याम्बर पेसमेकरमा एउटा तार मुटुको एउटा च्याम्बरमा जोडिन्छ भने डुअल च्याम्बर पेसमेकरमा मुटुका दुईवटा च्याम्बरहरुमा जोडिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?