गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ, “यो किसान, उपभोक्ता र व्यवसायीको हितमा छ कि छैन ?, घटना प्रचलित कानुनबमोजिम दण्डनीय हो कि होइन ? ” उक्त घटनामा संलग्नउपर छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सुझाव दिँदै समितिले कानुनबमोजिम सम्बन्धित निकायबाट छानविन गराई प्रतिवेदन पठाइ ती दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

बैठकले उक्त घटनामा दोषी भए कानुनी कारबाही गरी जानकारी गराउन पनि भनेको छ । बजार अभाव र उत्पादन लागतको तुलनामा गोलभेँडाको बिक्री मूल्य अत्यन्त न्यून रहेको जनाउँदै किसानको नाममा विचौलिया व्यवसायीले गोलभेँडा सडकमा नष्ट गरेको उपभोक्ता पक्षको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?