काठमाडौं । दक्षिण भारतीय चलचित्र आदिपुरुष प्रदर्शन नगर्न धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्देशन दिएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले हिजो आइतबार आफ्नो क्षेत्रभित्र भारतीय चलचित्र प्रदर्शनलाई रोक लगाएसँगै हर्कले पनि उक्त निर्देशन दिएका हुन् ।
हर्कले सोमबार बिहान सामाजिक सञ्जालमार्फत धरानमा आदिपुरुषको प्रदर्शन नगर्न निर्देशन दिएका हुन् । ‘हाम्रो देशको स्वाभिमान, राष्ट्रियता, अखण्डता, सार्वभौमसत्तामा आँच आउने विचार र अभिव्यक्ति हामीलाई सैह्य छैन,’ उनले भने, ‘त्यसैले हिन्दी फिल्म आदिपुरुषमा सिता जानकी भारतकी छोरी हुन् भन्ने संवाद राख्नु आपत्तिजनक कुरा हो त्यसैले धरानको सिनेमा घरमा प्रदर्शनमा रोक लगाएका छौँ ।’
गत शुक्रबार काठमाडौंका मेयर शाहले आदिपुरुषमा भएको विवादित संवाद हटाउनका लागि तीन दिनको अल्टिमेटम दिएका थिए । यद्यपि, निर्माण पक्षले उक्त संवाद हटाउनका लागि कुनै चासो नदिएपछि काठमाडौं महानगरभित्रका चलचित्र हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।
यसैगरी, पोखरा महानगरपालिकाले पनि आदिपुरुष प्रदर्शनमा रोक लगाएको थियो । आदिपुरुषमा भएको संवादलाई लिएर चौतर्फी विरोध भएपछि वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको जानकारी गराएका हुन् ।
चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ । साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकको गुनासो छ । मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया