हाटबजारले दियो रोजगारी

लोकपथ
117
Shares

सुमित्रा अधिकारी

बुटवल । बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ ।

बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा कोही पनि छैनन् । सोह्र वर्षको कलिलो उमेरमा उनको आफूभन्दा दुई वर्ष जेठा गोपाल ठकुरीसँग विवाह भयो । भारतीय सेनामा कार्यरत पति निवृत्त भएर स्वदेश फर्केपछि बुटवलमा मजदुरी गर्दा गर्दै क्षयरोगले थलिएर निधन भयो ।

हाटबजारमा आफ्नै प्रदर्शनीकक्ष अगाडि रहेको तत्कालीन बुटवल नगरपालिकाको भवन देखाउँदै पतिको मृत्युपछि त्यही भवन बनाउने काममा मजदुरी गरेर जीवन निर्वाह गरेको बताउछिन् । उमेर ढल्किँदै गएपछि श्रमिकको काम गर्न नसक्ने अवस्था भएपछि एकमात्र छोरी निरुको आग्रहमा हाटबजारमा हरियो तरकारीको व्यवसाय सुरु गरेको बताउछिन् । हरेक हप्ता लाग्ने हाटबजारमा चार दशकअघि आमा छोरीले शुरु गरेको व्यवसायमा हरियो तरकारी, टिम्मुर, सिद्रा माछा, सिन्कीजस्ता मौसमअनुसारको व्यापार गर्दै आएको उनि बताउछिन् ।

आफू २३ वर्षको हुँदा छोरी जन्मिएकी छोरी मात्र एक सन्तानका रुपमा नाति रहेको बताउछिन् । “नाबालक टुहुरो नाति म सँगै बस्थ्यो अहिले रोजगारीका लागि विदेश गएको दुई महिना भयो”, उनले भने, “नातिनीहरु भने विवाह भएर आ–आफ्नो घरमा छन्, म भने हरेक दिन बिहान हाटबजार आउँछु बिहानको खाना होटेलमै खान्छु, साँझको खाना भने माइली नातिनीले ल्याइ दिन्छन् ।” अहिले आफ्नो सहारा भनेकै नातिनीहरु रहेको उनि बताउछिन् ।

हरेक शनिबार र बुधबार बुटवलमा लाग्ने यो हाटबजारमा जीवन गुजार्न केही व्यापार पनि हुने र समय कटाउन पनि सहज हुने भएकाले नियमितजसो आउने गरेको उनि बताउछिन् । “घरमा बस्न, दिन कटाउन गाह्रो हुन्छ, यहाँ आएपछि दिदी बहिनीसंँग कुराकानी गरेर दिन कट्छु”, उनले भनिन्, “व्यापार गर्ने दिदीबहिनीले पनि बजारको दिन एक दिन नआउँदा बजै किन आएनन् भनेर सोधीखोजी गरेर बोलाउने गर्दछन् ।”

बुटवल उपमहानगरपालिका–११ मजुवा घर भएकी मन्दिरा गौचन उमेरले सात दशक पार गरेकी छिन् । उनको जीवन निर्वाहको मुख्य आधार पनि यही हाटबजार बनेको छ । उनले विगत २५ वर्षदेखि हाटबजारमा हरियो तरकारी र सालको पातजस्ता दैनिक उपभोग्य वस्तुको व्यापार गर्दै त्यसैको आम्दानीबाट घर व्यवहार चलाउँदै आएको बताउछिन् ।

उनको एक छोरी र एक छोरा छन् दम र मुटुको बिरामी वृद्धा गौचनका श्रीमानको पनि चार वर्षअघि दम र मुटुको बिरामीले थलिएर मृत्यु भएको बताउछिन् । वृद्धा गौचनको कमाइको मुख्य आधार नै हाटबजार हो । बुटवलको उपमहानगरपालिका–११ मजुवामा बस्दै आएकी ५२ वर्षीया कल्पना क्षेत्रीका पति १२ वर्ष पहिले भारतमा कमाउन भएका अहिलेसम्म फर्केका छैनन् ।

चार सन्तानकी आमा क्षेत्रीको पढ्दै गरेको छोरो पनि बीचमै पढाइ छाडेर दुई वर्षअघि कमाउन भारत पसेको छोरोक पनि अहिलेसम्म कुनै पत्तो छैन । दैनिक जीवन चलाउने विकल्प नभएपछि हाटबजारमा कहिले सालको पात, कहिले हरियो मकै, कहिले हरियो साग र तरकारी बेचेर गुजारा चलाइराखेको उनि बताउछिन् । “पहिला अलि व्यापार हुन्थ्यो, दिनमा रु दुई हजारसम्म बचत हुन्थ्यो । अहिले दिनमा चारदेखि पाँच सय मात्र बचत हुन्छ”, उनले भनिन्।

बुटवलको मुख्य बजार क्षेत्र बुटवल उपमहानगरपालिका–४ मा साताको दुई दिन लाग्ने हाटबजारमा व्यवसायीले बजार लगाउने गर्छन । यहाँको बजारमा झण्डै तीन हजार बढीले प्रत्येक बजारमा व्यवसाय गर्दै आएका छन् । रुपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष टेकबहादुर जिसी बताउछन् ।

यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरुपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ । तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गरेको अध्यक्ष जिसी बताउछन् । यी बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफैँ बजारसम्म ल्याएर बिक्री गर्ने गरेको उनि बताउछन् ।

हाटबजारमा मङ्सिरदेखि वैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन् । स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन् । यसबापत स्थानीय पालिकाले व्यवसायीबाट बैठकी करस्वरुप प्रतिस्टल ५० देखि दुई सयसम्म लिने गरेको अध्यक्ष जिसी बताउनुहन्छ तर व्यापार नहँुँदाकोे अवस्थामा राज्यका निकायलाई बुझाउनुपर्ने विभिन्न कारले व्यवसायीलाई मर्का परेको उनको गुनासो छ ।

वर्षौंदेखि हाटबजारमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका वृद्धवृद्धा, असक्त र विभिन्न समुदायका व्यवसायीका लागि हाटबजार व्यवसायी सङ्घले लिने सेवा शुल्कमा केही छुटको व्यवस्था गरेको छ तर व्यवसाय गरेबापत राज्यका निकायलाई तिर्ने करमा कुनै सुविधा नभएको अध्यक्ष जिसी बताउछन् । “हामीले यस्ता समूहका व्यवसायीलाई कुनै न कुनै हिसाबले सुविधा उपलब्ध गराउन स्थानीय पालिकालाई पटक पटक भन्यौँ”, उनले भने, “हाम्रो मागको सुनुवाइ कही कसैले पनि गरेन ।”

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल बुटवल क्षेत्रभित्रका सम्पूर्ण हाटबजारलाई योजनाका साथ व्यवस्थित गर्न थालिएको बताउछिन् । उनले अहिले बुटवलको हाटबजारलाई केही व्यवस्थित गर्ने कार्यको शुृरुआत भएको अन्य बजारलाई पनि व्यवसायीसँग सल्लाह गरेर अगाडि बढ्ने योजनामा रहेको बताउछिन् ।

उनले लामो समयदेखि हाटबजारमा व्यवसाय गर्दै आएका महिला तथा वृद्धवृद्धालाई तत्काल कुनै सुविधाको केही व्यवस्था नभए पनि अबको बजेटमा केही गर्न सकिन्छ कि भन्ने सोचमा रहेको बताउछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?